सात वर्षपछि उत्तर कोरिया जाँदै सी
बिशेष
काठमाडौं । चिनियाँ राष्ट्रपति तथा चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सि जिनपिङ आगामी सोमबार दुईदिने राजकीय भ्रमणका लागि उत्तर कोरिया जाने भएका छन्। चिनियाँ विदेश मन्त्रालयले राष्ट्रपति सीको सात वर्षपछि उत्तर कोरियामा दोस्रो राजकीय भ्रमण हुन लागेको जनाएको छ।
विदेश मन्त्रालयकी प्रवक्ता माओ निङका अनुसार भ्रमणका क्रममा राष्ट्रपति सी र उत्तर कोरियाली नेता किम जोन उनबीच द्विपक्षीय सम्बन्ध, क्षेत्रीय सुरक्षा तथा साझा चासोका विभिन्न विषयमा विस्तृत छलफल हुनेछ।
चीनले राष्ट्रपति सी र नेता किमको रणनीतिक नेतृत्वमा चीन–उत्तर कोरिया सम्बन्ध निरन्तर सुदृढ र स्थिर बन्दै गएको बताएको छ। यसबाट दुवै देश र जनताले प्रत्यक्ष लाभ प्राप्त गरिरहेको चिनियाँ पक्षको दाबी छ।
यस वर्ष चीन–उत्तर कोरिया मैत्री, सहयोग तथा पारस्परिक सहायता सन्धिको ६५औँ वार्षिकोत्सव पनि परेकाले भ्रमणलाई विशेष महत्वका साथ हेरिएको छ। चिनियाँ विदेश मन्त्रालयले भ्रमणले द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्याउनुका साथै क्षेत्रीय शान्ति, स्थायित्व र विकासमा समेत योगदान पुर्याउने अपेक्षा गरेको छ।
विश्लेषकहरूका अनुसार राष्ट्रपति सी र किमबीचको यो उच्चस्तरीय भेटवार्ताले कोरियाली प्रायद्वीपको सुरक्षा अवस्था, आर्थिक सहकार्य तथा क्षेत्रीय शक्ति सन्तुलनबारे महत्वपूर्ण सन्देश दिन सक्नेछ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
