प्रचण्ड गर्मी : छालालाई कसरी जोगाउने ?
काठमाडौं। गर्मीको तीव्रता दिनप्रतिदिन बढ्दै गएको छ। तापक्रम उकालो लागेसँगै यसको प्रत्यक्ष असर मानव छालामा स्पष्ट रूपमा देखिन थालेको छ।
अहिले अस्पताल तथा छाला क्लिनिकहरूमा बिरामीहरूको चाप बढेको छ। कसैलाई अनुहारमा चायाँ-पोतोको समस्या छ भने कसैलाई घमौराले सताइरहेको छ। फंगल संक्रमण, छाला चिलाउने तथा डन्डीफोरजस्ता समस्या पनि उल्लेख्य रूपमा बढेका छन्।
चिकित्सकहरूका अनुसार अहिलेको मौसम छालाका लागि अनुकूल छैन। चर्को घाम, निरन्तर पसिना र सडकको धुलो-धुवाँको मिश्रणले छालाको प्राकृतिक सुरक्षा तह कमजोर बनाइरहेको छ। जसको परिणामस्वरूप छालाको चमक घट्ने मात्र होइन, विभिन्न प्रकारका संक्रमण र दीर्घकालीन समस्याहरू देखिन सक्ने जोखिम बढेको छ। छाला रोग विशेषज्ञहरूको भनाइ छ,‘गर्मी मौसमलाई हल्का रूपमा नलिनुहोस्, छालाको नियमित हेरचाह अनिवार्य छ।’
उनीहरूका अनुसार सानो सावधानीले पनि धेरै समस्या रोक्न सकिन्छ।
विशेषगरी अनुहारमा देखिने कालो दाग, चायाँ-पोतोको समस्या महिला मात्र होइन पुरुषमा पनि उत्तिकै देखिएको छ। बाहिर लामो समय काम गर्ने, घाममा हिँड्ने वा छालाको उचित सुरक्षा नगर्ने व्यक्तिहरू बढी प्रभावित भइरहेका छन्।
वरिष्ठ छाला रोग विशेषज्ञ डा. भाष्करमोहन कायस्थका अनुसार सूर्यबाट निस्कने पराबैजनी (युभी) किरणले छालाको कोषमा प्रत्यक्ष असर पार्छ। लामो समय घाममा बस्दा मेलानिन उत्पादन गर्ने कोष अत्यधिक सक्रिय भई अनुहारमा कालो दाग, चायाँ वा पोतो देखिन सक्छ।
उहाँका अनुसार युभी किरणले छालाको सतही मात्र होइन, गहिरो तहसम्म असर पुर्याउन सक्छ। यसले छालाको प्राकृतिक चमक घटाउने र समयभन्दा छिटो बुढ्यौलीका लक्षण देखिने सम्भावना बढाउँछ। अनुहार, घाँटी र हातजस्ता खुला भागहरू बढी प्रभावित हुने गर्छन्।
बजारमा चायाँ हटाउने दाबी गरिएका थुप्रै क्रिम, लेप तथा औषधिहरू उपलब्ध छन्। तर चिकित्सकको सल्लाहबिना प्रयोग गर्दा फाइदाभन्दा हानि बढी हुने उनीहरूको चेतावनी छ।
प्रारम्भिक अवस्थामा सामान्य देखिएको समस्या पनि गलत क्रिम वा अनियन्त्रित प्रयोगका कारण झन् फैलिने वा गाढा हुने जोखिम रहन्छ। छालाको प्रकृति व्यक्तिअनुसार फरक हुने भएकाले सबैका लागि एउटै उत्पादन उपयुक्त हुँदैन।
छाला परीक्षणपछि मात्र विशेषज्ञको सिफारिसअनुसार सामग्री प्रयोग गर्नुपर्नेमा चिकित्सकहरूले जोड दिएका छन्।
चिकित्सकहरूका अनुसार सुक्खा छालाका लागि मोइस्चराइजरयुक्त क्रिम उपयुक्त हुन्छ, जसले आवश्यक नमी कायम राख्छ। तर चिल्लो छालामा अत्यधिक तेलयुक्त क्रिम प्रयोग गर्दा डन्डीफोरजस्ता समस्या बढ्न सक्छन्।
त्यसैले आफ्नो छालाको प्रकार बुझेर मात्र सौन्दर्य सामग्री छनोट गर्नुपर्नेमा विशेषज्ञहरूको सुझाव छ।
गर्मी बढेसँगै देखिने अर्को समस्या घमौरा हो। अत्यधिक पसिना निस्केर पसिना नली बन्द हुँदा छालामा साना रातो दाना देखिने अवस्थालाई घमौरा भनिन्छ।
यो समस्या विशेषगरी अनुहार, घाँटी, छाती, ढाड र शरीरका गुम्सिने भागहरूमा बढी देखिन्छ। यसले चिलाउने, पोल्ने र असहजता बढाउने गर्छ।
डा. कायस्थका अनुसार घमौरा देखिएमा प्रभावित भागलाई सफा पानीले धुने र प्राकृतिक रूपमा सुक्न दिने गर्नु उपयुक्त हुन्छ। कपडाले कडा रूपमा पुछ्दा छाला झन् उत्तेजित हुन सक्छ। चिसो र हावा चल्ने वातावरणमा बस्दा निको हुने सम्भावना छिटो हुन्छ।
गर्मी मौसममा फंगल संक्रमण पनि व्यापक रूपमा देखिन्छ। पसिना जम्ने र गुम्सिने भागहरूमा ढुसीजन्य जीवाणु सक्रिय भई संक्रमण फैलिने जोखिम हुन्छ।
विशेषगरी काखी, काछ, स्तनमुनि, घाँटीका चाउरी, पेटको तह तथा खुट्टाका औंलाबीचका भागहरूमा संक्रमण बढी देखिन्छ।
संक्रमण भएको स्थान चिलाउने, रातो हुने, छाला उप्किने, कत्ला देखिने र कहिलेकाहीँ दुर्गन्ध आउने जस्ता लक्षण देखा पर्न सक्छन्। कतिपय अवस्थामा बीच भाग सामान्य र वरिपरि रातो घेरासहित गोलो दाग देखिनु दादको संकेत मानिन्छ।
विशेषज्ञहरूका अनुसार गर्मीमा नियमित सरसफाइ अत्यन्त आवश्यक छ। दिनभरि पसिना लागेको कपडा नफेर्दा संक्रमणको जोखिम बढ्छ।
सुती कपडा प्रयोग गर्न सुझाव दिइन्छ, किनकि यसले पसिना सोस्ने क्षमता राम्रो हुन्छ र छाला सुक्खा राख्न मद्दत गर्छ। भित्री वस्त्र, मोजा तथा दैनिक प्रयोगका कपडा पनि सकेसम्म सुतीकै प्रयोग गर्नु उपयुक्त हुन्छ।
राति सुत्नुअघि भित्री वस्त्र फेर्नुपर्ने चिकित्सकहरूको सुझाव छ। पुरुषका लागि खुकुलो लुगा तथा महिलाका लागि हल्का र हावा चल्ने पहिरनले छाला स्वस्थ राख्न मद्दत गर्छ।
गर्मीमा छालाको सुरक्षाका लागि सनस्क्रिन अत्यन्त आवश्यक मानिन्छ। तर धेरैलाई यसको सही प्रयोगबारे जानकारी हुँदैन, चिकित्सकहरू बताउँछन्।
अनुहार सफा गरेपछि पहिले मोइस्चराइजर लगाउने, त्यसपछि सनस्क्रिन प्रयोग गर्ने र आवश्यक परे मात्र अन्य सौन्दर्य सामग्री प्रयोग गर्ने उपयुक्त विधि हो।
सनस्क्रिन घरबाट निस्कनुभन्दा करिब ३० मिनेटअघि लगाउनु राम्रो मानिन्छ, जसले छालामा प्रभावकारी रूपमा काम गर्न समय पाउँछ। सही मात्रामा प्रयोग गरिएको सनस्क्रिनले करिब ६–७ घण्टासम्म सुरक्षा दिन सक्छ।
विशेषज्ञहरूका अनुसार घामबाट बच्नु नै छालाको सुरक्षा गर्ने सबैभन्दा प्रभावकारी उपाय हो।
घरबाहिर निस्कँदा छाता प्रयोग गर्ने, चौडा किनार भएको टोपी लगाउने र बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मको तीव्र घाममा लामो समय नबस्ने बानी अपनाउन सके छालालाई धेरै हदसम्म सुरक्षित राख्न सकिन्छ।
