रास्वपा बारा लफडा : केन्द्रीय कार्यालय घेराउ गर्न पुगे कार्यकर्ता [तस्वीरहरू]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कलैया उपमहानगरपालिकाको नगर अधिवेशनको निर्वाचन परिणामलाई लिएर विवाद चर्किएको छ।
विवादका बीच कलैयाका कार्यकर्ताहरूले आइतबार बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा धर्ना दिएका हुन्।
आन्दोलनरत कार्यकर्ताहरूका अनुसार नगर अधिवेशनमा उमाशंकर रौनियार १२४ मत प्राप्त गर्दै सभापतिमा निर्वाचित भएका थिए।
निर्वाचन सम्पन्न भई विजयी उम्मेदवार तथा पदाधिकारीहरूको शपथ ग्रहणसमेत भइसकेपछि पुनः निर्वाचन गराउने सूचना सार्वजनिक गरिएपछि विवाद सुरु भएको उनीहरूको भनाइ छ।
प्रदर्शनकारीहरूले मधेश प्रदेश समितिको तर्फबाट ‘५० प्लस १’ बहुमत नपुगेको आधार देखाउँदै पुनः निर्वाचनको सूचना जारी गरिएको दाबी गरेका छन्। उनीहरूको आरोप छ, यस्तो निर्णय पार्टीको विधान र लोकतान्त्रिक अभ्यासविपरीत छ।
उनीहरूले एकपटक निर्वाचन सम्पन्न भई आधिकारिक रूपमा विजयी घोषणा गरिसकेपछि पुनः निर्वाचन गराउने निर्णय कुनै पनि हालतमा स्वीकार्य नहुने बताएका छन्।
कार्यकर्ताहरूले कुनै आधिकारिक लेटरहेड वा हस्ताक्षरबिनै सामाजिक सञ्जालमार्फत निर्वाचन रद्द गरिएको सूचना सार्वजनिक गरिएको भन्दै पार्टी नेतृत्वसँग स्पष्ट जवाफ र निष्पक्ष निर्णयको माग गरेका छन्।
साथै, पार्टीले देशभर सञ्चालन गरिरहेको अधिवेशन प्रक्रियामा पारदर्शिता कायम गर्न, विधानअनुसार निर्णय गर्न तथा कार्यकर्ताको मतको सम्मान गर्नुपर्ने उनीहरूको माग रहेको छ।
तस्वीरहरू:








