स्पा सेन्टरमा बालिकालाई जबरजस्ती अनैतिक कार्य गराएको आरोप, पक्राउ परिन् सञ्चालिका
काठमाडौं। ललितपुरको सानेपास्थित एक स्पा सेन्टरमा कार्यरत बालिकालाई जबरजस्ती अनैतिक गतिविधिमा संलग्न गराएको आरोपमा प्रहरीले स्पा सञ्चालिकालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा ललितपुर महानगरपालिका-२, अरुणथापा चोकमा सञ्चालन हुँदै आएको ‘शुकल्प स्पा एण्ड थेरापी’की सञ्चालिका गोरखा सिरानचोक गाउँपालिका–३ घर भएकी सुमन थापा मगर उर्फ सुमन कुमाल रहेकी छन्। उनलाई शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको हो।
नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, स्पा सेन्टरमा स्टाफका रूपमा कार्यरत एक बालिकालाई विभिन्न प्रलोभनमा पारी सेवा लिन आउने ग्राहकहरूको इच्छाअनुसार जबरजस्ती अनैतिक कार्य गराइरहेको भन्ने सूचनाका आधारमा प्रहरी टोलीले छापा मारी उनलाई पक्राउ गरेको हो।
प्रहरीले घटनासम्बन्धी थप अनुसन्धानका लागि मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसुरअन्तर्गत मुद्दा दर्ता गरेको जनाएको छ। जिल्ला अदालत ललितपुरबाट पाँच दिनको म्याद थप अनुमति लिएर अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।
प्रहरीका अनुसार घटनासँग सम्बन्धित अन्य पक्ष र सम्भावित संलग्न व्यक्तिहरूबारे समेत अनुसन्धान जारी रहेको छ।
साथै, पीडित बालिकाको संरक्षण र आवश्यक कानुनी तथा मनोसामाजिक सहयोगका लागि सम्बन्धित निकायसँग समन्वय गरिएको जनाइएको छ।
