`

वाईफाइ कसरी काम गर्छ ?

Nepal One HD २५ जेठ २०८३ १४:३४
फिचर

काठमाडौं। हामी दैनिक जीवनमा इन्टरनेटको प्रयोग गरिरहेका छौँ। अझ इन्टरनेट, मोबाइल डाटा वा वाइ-फाइको हामी आदी नै भएका छौं भन्दा फरक नपर्ला। 

तर कहिल्यै सोच्नु भएको छ ? वाईफाइले कसरी काम गर्छ ? वाईफाइका पछाडि अत्यन्त जटिल तर रोचक भौतिक विज्ञान, गणित र कम्प्युटर इन्जिनियरिङको संयोजन छ।  तारबिनै मोबाइल, ल्यापटप वा स्मार्ट टिभीमा इन्टरनेट चल्नु यो कुनै चमात्कार भन्दा कम हैन। तर यो इलोक्ट्रो-म्याग्नेटिक वेबहरूको अत्यन्त व्यवस्थित प्रयोग हो ।

वाइ-फाइको आधार नै रेडियो वेब हो। जसले प्रकाशको गतिमा हावामा यात्रा गर्छ । यी तरंगहरू राउटर र तपाईंको डिभाइसबीच सूचना आदानप्रदान गर्ने ‘इन्भिजिबल ब्रिज’ हुन् । यही प्रक्रियाले हामीलाई केबलबिनै इन्टरनेटको संसारसँग जोड्छ ।

वाइ-फाइले मुख्य रूपमा २.४ गिगाहर्ज र ५ गिगाहर्ज दुई फ्रिक्वेन्सी ब्यान्ड प्रयोग गर्छ। फ्रिक्वेन्सी भनेको कुनै तरंग कति पटक दोहोरिन्छ भन्ने मापन हो, जसलाई हर्जमा नापिन्छ ।

सरल भाषामा बुझ्दा, यदि तपाईं समुन्द्र किनारमा बसेर छालहरू हेर्दै हुनुहुन्छभने, छालहरू कति छिटो आउँछन् भन्ने नै फ्रिक्वेन्सी हो ।

एक सेकेन्डमा एक छाल आए एक हर्ज हुन्छ। तर वाइ-फाइको सन्दर्भमा एक गिगाहर्ज भनेको एक सेकेन्डमा एक अर्ब छाल बराबरको गति हो ।

फ्रिक्वेन्सी जति उच्च हुन्छ, डेटा पठाउने क्षमता त्यति नै बढी हुन्छ। त्यसैले ५ गिगाहर्ज ब्यान्डले उच्च गति दिन्छ तर यसको दायरा छोटो हुन्छ ।

२.४ गिगाहर्ज भने लामो दूरीमा पुग्न सक्छ र पर्खालजस्ता अवरोध पनि सजिलै पार गर्छ, तर गति अलि कम हुन्छ ।

फ्रिक्वेन्सीहरूलाई अझ साना च्यानलहरूमा विभाजन गरिएको हुन्छ । यसको मुख्य उद्देश्य धेरै प्रयोगकर्ताले एकै समयमा इन्टरनेट प्रयोग गर्दा हुने ‘ट्राफिक जाम’ कम गर्नु हो ।

यदि च्यानलहरू नहुने हो भने सबै डिभाइसले एउटै बाटो प्रयोग गर्दा सिग्नलहरू एकआपसमा बाझिन्थे, जसलाई अवरोध भनिन्छ । च्यानल विभाजनले यही समस्या समाधान गर्छ र नेटवर्कलाई स्थिर बनाउँछ ।

डेटा कसरी हावामा पुग्छ ?

जब तपाईं कुनै वेबसाइट खोल्नुहुन्छ वा भिडियो हेर्नुहुन्छ, तपाईंको डिभाइसले त्यो कमाण्डलाई १ र ० को भाषामा रूपान्तरण गर्छ । यो नै कम्प्युटरको बेसिक ल्याङ्गवेज हो।

तपाईंले कुनै लिंक क्लिक गर्दा त्यो कमाण्ड तुरुन्तै हजारौँ-लाखौँ १ र ० को श्रृंखलामा बदलिन्छ । यही श्रृंखला डिजिटल सूचना हो। जसलाई पछि तरंगमा रूपान्तरण गरिन्छ ।

वाइ-फाइ चिपले बाइनरी डेटा लाई रेडियो तरंगमा रूपान्तरण गर्छ । यस प्रक्रियालाई संकेत मोडुलेसन भनिन्छ ।

यसमा प्रत्येक १ र ० लाई फरक-फरक तरंग ढाँचा, तीव्रता वा आवृत्तिमा बदलिन्छ । यसरी सूचना ‘कोडेड सिग्नल’ बनेर हावामा यात्रा गर्न सक्षम हुन्छ ।

त्यसपछि ती अदृश्य तरंगहरू राउटरसम्म पुग्छन्, जुन इन्टरनेट नेटवर्कको मुख्य प्रवेश बिन्दु हो ।

राउटरले आएका रेडियो तरंगहरूलाई पुनः १ र ० मा परिवर्तन गर्छ, जसलाई संकेत पुनः रूपान्तरण भनिन्छ । त्यसपछि यो डेटा इन्टरनेट सेवा प्रदायक हुँदै विश्वव्यापी नेटवर्कमा पुग्छ ।

त्यहाँ रहेको सर्भरले तपाईंले मागेको सूचना वेबपेज, भिडियो वा फाइल खोजेर पुनः तपाईंको डिभाइसतर्फ पठाउँछ ।

सर्भर → इन्टरनेट नेटवर्क → राउटर → रेडियो तरंग → डिभाइस → स्क्रिनमा देखिने सामग्री यो सम्पूर्ण प्रक्रिया उल्टो बाटोमा दोहोरिन्छ ।

आधुनिक वाइ-फाइ प्रणालीहरू अत्यन्त द्रुत छन् । पुराना राउटरहरू ५४ मेगाबिट प्रति सेकेन्ड वरिपरि काम गर्थे भने नयाँ वाइ-फाइ ५ र वाइ-फाइ ६ ले गिगाबिट प्रति सेकेन्डसम्म गति दिन सक्छन् ।

यसको अर्थ एक सेकेन्डमै लाखौँदेखि अर्बौँ सूचना संकेत आदानप्रदान हुन सक्छ ।

यो तीव्रताका कारण हामीले भिडियो, अनलाइन खेल, भिडियो कल वा क्लाउड सेवा बिना रोकावट प्रयोग गर्न सक्छौं ।

वाइ-फाइको सबैभन्दा रोचक पक्ष भनेको यसको अदृश्यता हो । हामीले देख्दैनौं, तर हाम्रो वरिपरि निरन्तर लाखौँ रेडियो तरंगहरू बगिरहेका हुन्छन् ।

हरेक क्लिक, टाइप, भिडियो वा सन्देश यही अदृश्य तरंगमार्फत संसारभर पुगिरहेको हुन्छ । यो प्रणाली यति छिटो र सूक्ष्म छ कि मानव आँखाले महसुस गर्न सक्दैन।  

यसरी हेर्दा, वाइ-फाइ केवल प्रविधि होइन, बरु विज्ञान, गणित र मानव आवश्यकताको अद्भुत योग बाट बनेको छ।  जसले आजको युगलाई एक क्लिकमै जोडिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *