`

एक लिंक, एक क्लिक : २५ लाख गायब

Nepal One HD ३० जेठ २०८३ ११:२०
अपराध

काठमाडौं। मोबाइलमा आएको एउटा शङ्कास्पद सन्देशमा विश्वास गर्दा काठमाडौँका एक व्यक्तिले २५ लाख रुपैयाँभन्दा बढी रकम गुमाएका छन्। साइबर ठगीको यो घटनामा संलग्न रहेको आरोपमा नेपाल प्रहरीले दुई जनाविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ।

नेपाल प्रहरीको साइबर ब्युरोको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले सप्तरीका २० वर्षीय आकाशकुमार पासवान र सिरहाका २३ वर्षीय चन्देश्वर महतोलाई प्रतिवादी बनाएर ठगी मुद्दा दायर गरेको हो। दुवै जना हाल फरार रहेको जनाइएको छ।

प्रहरीका अनुसार उनीहरूविरुद्ध मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत ठगी कसुरमा अभियोग लगाइएको छ। दोषी ठहर भएमा सात वर्षसम्म कैद, ७० हजार रुपैयाँसम्म जरिवाना तथा पीडितलाई पूर्ण क्षतिपूर्ति भराउन माग गरिएको छ। अदालतले फरार रहेका दुवै अभियुक्तलाई पक्राउ गर्न आवश्यक प्रक्रिया अघि बढाएको छ।

अनुसन्धानबाट खुलेअनुसार गत जेठ २९ गते पीडितको मोबाइलमा ‘द_अलर्ट’ नामबाट एउटा एसएमएस प्राप्त भएको थियो। उक्त सन्देशमा ‘सुरक्षाका कारण कनेक्ट आईपीएस खाता रोक्का गरिएको छ’ भन्दै खाता पुनः सञ्चालन गर्न एउटा लिंकमा क्लिक गरी विवरण भर्न अनुरोध गरिएको थियो।

सन्देश आधिकारिक जस्तो देखिएकाले पीडितले उक्त लिंक खोलेर आफ्नो बैंकिङ विवरण प्रविष्ट गरेका थिए। केही समयपछि शङ्का लागेपछि प्रक्रिया बीचमै रोके पनि त्यतिबेलासम्म साइबर अपराधीहरूले आवश्यक विवरण प्राप्त गरिसकेको प्रहरीको निष्कर्ष छ।

प्रहरीका अनुसार पीडित सुतिरहेको समयमा साइबर अपराधीहरूले उनको ‘कनेक्ट आईपीएस’ प्रणालीमा अनधिकृत पहुँच बनाएर बैंक खाताबाट रकम स्थानान्तरण गरेका थिए।

सुरुमा राष्ट्रिय वाणिज्य बैंक र नबिल बैंकमा रहेको रकमबाट परीक्षणका लागि १०० रुपैयाँ पठाइएको थियो। त्यसपछि क्रमिक रूपमा रकम निकालेर आकाशकुमार पासवानको नेपाल एसबीआई बैंकस्थित खातामा जम्मा ११ लाख ७४ हजार १०० रुपैयाँ स्थानान्तरण गरिएको थियो।

त्यसको भोलिपल्ट जेठ ३१ गते बिहान पुनः राष्ट्रिय वाणिज्य बैंकको खाताबाट चन्देश्वर महतोको लक्ष्मी सनराइज बैंकस्थित खातामा १३ लाख ७० हजार रुपैयाँ पठाइएको अनुसन्धानबाट खुलेको छ।

यसरी दुई दिनभित्र पीडितको खाताबाट कुल २५ लाख ४४ हजार १०० रुपैयाँ गायब भएको थियो। मोबाइल हेर्दा मात्रै आफ्नो खाताबाट ठूलो रकम चोरी भएको थाहा पाएपछि उनले प्रहरीमा उजुरी दिएका थिए।

साइबर ब्युरोका अनुसार पछिल्लो समय बैंक, वालेट, कनेक्ट आईपीएस, सरकारी संस्था वा सेवा प्रदायकको नाम प्रयोग गरी नक्कली लिंक पठाउने ‘फिसिङ’ प्रकृतिका अपराध तीव्र रूपमा बढिरहेका छन्।

यस्ता सन्देशमा दिइएको लिंकमा क्लिक गरी प्रयोगकर्ताले आफ्नो प्रयोगकर्ता नाम, पासवर्ड, ओटीपी वा बैंकिङ विवरण प्रविष्ट गरेपछि अपराधीहरूले खातामा पहुँच प्राप्त गरी रकम चोरी गर्ने गरेका छन्।

साइबर ब्युरोले अपरिचित स्रोतबाट आएका लिंकमा क्लिक नगर्न, बैंकिङ विवरण कसैलाई नदिन र कुनै पनि शङ्कास्पद सन्देश प्राप्त भए सम्बन्धित बैंक वा संस्थासँग आधिकारिक माध्यमबाट पुष्टि गर्न आग्रह गरेको छ।

विशेषगरी कनेक्ट आईपीएस, बैंक, डिजिटल वालेट वा सरकारी निकायको नाममा आउने सन्देशप्रति सजग रहन र ओटीपी, पासवर्ड तथा अन्य गोप्य विवरण कसैसँग पनि साझा नगर्न प्रहरीले चेतावनी दिएको छ।

साइबर विज्ञहरूका अनुसार केही सेकेन्डको असावधानीले लाखौं रुपैयाँको क्षति हुन सक्ने भएकाले डिजिटल कारोबारमा थप सतर्कता आवश्यक रहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *