‘रवि’लाई नख्खुबाट निकाल्ने क्रममा फरार भएका ‘श्रेष्ठ’ पक्राउ
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई कार्यकर्ताहरूले ललितपुरको नक्खु कारागारबाट निकाल्ने क्रममा फरार भएका एक कैदीलाई प्रहरीले पक्राउ गरी पुनः कारागार चलान गरेको छ ।
दोलखाको सैलुङ गाउँपालिका–८ का ४४ वर्षीय सुनिल श्रेष्ठ पक्राउ परेका हुन् । उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–९ मुढे क्षेत्रबाट नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार श्रेष्ठ डाँका चोरी मुद्दामा पाँच वर्षको कैद सजाय भुक्तान गरिरहेका थिए । तर जेनजी आन्दोलनका क्रममा उत्पन्न अव्यवस्थाको फाइदा उठाउँदै उनी नक्खु कारागारबाट फरार भएका थिए ।
फरार सूचीमा रहेका श्रेष्ठलाई विशेष सूचनाका आधारमा खोजी गर्दै प्रहरीले पक्राउ गरेको हो ।
पक्राउपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी उनलाई पुनः नक्खु कारागार चलान गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक शरतकुमार थापा क्षेत्रीले जानकारी दिए ।
