विश्वकप हेर्न खोज्दा १ लाख ४५ हजार झ्वाम्
काठमाडाैं। विश्वकप हेर्ने सम्बन्धी सामाजिक सञ्जालमा आएको विज्ञापनको लिंकमार्फत एउटा एप डाउनलोड गर्दा एक व्यक्ति ठगीको सिकार बनेका छन्। सो घटनामा उनको बैंक खाताबाट करिब १ लाख ४५ हजार रुपैयाँ चोरी भएको पीडितले बताएका छन्।
पीडितका अनुसार विज्ञापनमा देखिएको लिंक क्लिक गरेर एप डाउनलोड गरेपछि मोबाइल फोन असामान्य रूपमा ह्याङ हुन थालेको थियो। केही समयपछि बैंकको नाममा आएको जस्तो देखिने सन्देश मार्फत पासवर्ड हाल्न आग्रह गरिएको र सोही क्रममा उनी ठगीमा परेका हुन्।
पासवर्ड प्रविष्ट गरेपछि केही मिनेटमै उनको बैंक खाताबाट दुई पटक गरी ठूलो रकम निकालिएको उनले जानकारी दिएका छन्।
साइबर सुरक्षा विज्ञहरूले यस्ता अनौपचारिक लिंक, शंकास्पद एप तथा सामाजिक सञ्जालमा आउने विज्ञापनप्रति सतर्क रहन आग्रह गरेका छन्। बैंक वा आधिकारिक संस्थाले कहिल्यै पनि एसएमएस वा लिंकमार्फत पासवर्ड माग्दैनन् भन्ने कुरामा विशेष ध्यान दिन पनि सुझाव दिइएको छ।
अधिकारिहरूले अनजान लिंक क्लिक नगर्न, आधिकारिक एप स्टोरबाट मात्र एप डाउनलोड गर्न र कुनै पनि व्यक्तिगत बैंक विवरण कसैसँग पनि शेयर नगर्न चेतावनी दिएका छन्।
