`

भारतीय हेलिकप्टर दार्चुलामा अवतरण गरेको विषयमा नेकपाले माग्यो स्पष्टिकरण

Nepal One HD १ असार २०८३ ११:३४
नेपाली कम्युनिष्ट पार्टी

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले दार्चुलामा भारतीय हेलिकप्टर अवतरण गरेको घटनाबारे सरकारसँग स्पष्टिकरण माग गरेको छ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा नेकपाका प्रमुख सचेतक युवराज दुलालले उक्त विषय उठाउँदै घटनाको वास्तविकता सार्वजनिक गर्न सरकारसँग माग गरेका हुन्।

संसद्मा बोल्दै दुलालले सीमावर्ती क्षेत्रमा विदेशी हेलिकप्टरको अवतरण जस्तो संवेदनशील विषयलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने बताए। उनले दार्चुलामा भारतीय हेलिकप्टर कुन उद्देश्यले, कसको अनुमति लिएर र कस्तो परिस्थितिमा अवतरण गरेको हो भन्ने विषयमा संसद् र जनतालाई जानकारी गराउन सरकारसँग आग्रह गरे।

दुलालले राष्ट्रिय स्वाधीनता र सीमासम्बन्धी विषयमा सरकार सजग र जवाफदेही हुनुपर्ने उल्लेख गर्दै यस्ता घटनाबारे समयमै स्पष्ट जानकारी नआउँदा विभिन्न आशंका उत्पन्न हुने बताए।

यसैबीच उनले पूर्वी नेपालका चिया उद्योगहरू समस्यामा परेको विषय पनि संसद्मा उठाए। भारतीय हस्तक्षेप तथा बजार व्यवस्थापनसम्बन्धी चुनौतीका कारण पूर्वी क्षेत्रका चिया उद्योग क्रमशः बन्द हुने अवस्थामा पुगेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराए।

चिया क्षेत्रले हजारौँ किसान र श्रमिकको जीविकोपार्जनसँग प्रत्यक्ष सम्बन्ध राख्ने भएकाले यसको संरक्षण र प्रवर्द्धनका लागि तत्काल प्रभावकारी कदम चाल्न उनले सरकारसँग माग गरे। चिया उद्योगको समस्या समाधानका लागि आवश्यक कूटनीतिक पहल, बजार व्यवस्थापन तथा उद्योग संरक्षणका कार्यक्रम अघि बढाउनुपर्ने उनको भनाइ थियो।

दुलालले राष्ट्रिय हितसँग जोडिएका विषयमा सरकार गम्भीर बन्नुपर्ने आवश्यकता औँल्याउँदै संसद्मार्फत सरकारको ध्यानाकर्षण गराएका हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *