रविसँगै नक्खुबाट भागेका युवकले खुकुरी देखाउँदै युवतीमाथि कुटपिट गरेपछि…
दाङ। तुलसीपुरमा एक युवतीमाथि खुकुरी देखाउँदै कुटपिट तथा यातना दिएको आरोपमा एक युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–२ भंके बस्ने २४ वर्षीय रमेश ठाडा मगर रहेका प्रहरीले जनाएको छ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने थुनामा रहेको नख्खु कारागारबाट फरार भएका कैदी हुन्।
२०८२ भदौ २३ र २४ गते भएको ‘जेन-जी’ आन्दोलनले चर्काएको तनावका बीच नख्खु कारागारबाट कैदीबन्दीहरू भाग्ने क्रममा उनी पनि भागेका थिए।
प्रहरीका अनुसार तीन महिनाअघि नै ती युवकले एक युवतीलाई राति जंगल क्षेत्रमा लगेर खुकुरी देखाई डर–धम्की दिँदै कुटपिट गरेको खुलेको छ।
सोही घटनाको भिडियो मंगलबार साँझ ८:३० बजे उनले आफ्नै फेसबुक आईडीमार्फत सार्वजनिक गरेपछि घटना बाहिर आएको हो।
भिडियो सार्वजनिक भएपछि इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको टोलीले मंगलबार राति १०:४० बजे उनलाई घरबाटै पक्राउ गरेको प्रहरीले जनाएको छ।
पक्राउका क्रममा उनको साथबाट लागूऔषधसम्बन्धी विभिन्न औषधिहरू पनि बरामद गरिएको छ । बरामद सामग्रीमा प्रेगाम्याक्स १ ट्याब्लेट, ट्रोहमो ४२ ट्याब्लेट, एन्टिकोप २ ट्याब्लेट र नाइट्राजोहाम ५ ट्याब्लेट रहेका छन् ।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा ती युवक र पीडित युवतीबीच पहिलेदेखि नै चिनजान रहेको र व्यक्तिगत विवादका कारण घटना भएको देखिएको छ ।
भिडियो सार्वजनिक भएपछि मात्र घटना बाहिर आएको र त्यसपछि मात्रै प्रहरी सक्रिय भएको बताइएको छ ।
हाल पक्राउ परेका युवकमाथि लागूऔषध प्रयोग तथा आपराधिक धम्कीसम्बन्धी कसुरमा समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
