३ लाख ३२ हजार विद्यार्थीमध्ये १ लाखभन्दा बढीको ‘एनजी’
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ।
सार्वजनिक विवरणअनुसार ३ लाख ३२ हजार २४१ नियमित परीक्षार्थीमध्ये १ लाख ४७१ जना ननग्रेड (एनजी) भएका छन् भने २ लाख ३१ हजार ७७० जना ग्रेडेड भएका छन्।
बोर्डका अनुसार यस वर्ष ३.६१ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या १७ हजार ७८६ रहेको छ। त्यस्तै ३.२१ देखि ३.६० जीपीए ल्याउने ६४ हजार ८२१ विद्यार्थी छन्।
२.८१ देखि ३.२० जीपीए समूहमा सबैभन्दा धेरै ९४ हजार २४९ विद्यार्थी रहेका छन्। २.४१ देखि २.८० जीपीए ल्याउने ५० हजार ५९७ विद्यार्थी छन्। त्यसैगरी २.०१ देखि २.४० जीपीए ४ हजार ३०८ जनाले प्राप्त गरेका छन् भने १.६१ देखि २.०० जीपीए ल्याउने ९ जना रहेका छन्।
यस वर्ष नियमित र आंशिकतर्फ गरी कुल ४ लाख १८ हजार १७० परीक्षार्थी परीक्षामा सहभागी भएका थिए। परीक्षाका क्रममा अमर्यादित गतिविधि गरेको आरोपमा ४० जनाको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ। तीमध्ये २ जनालाई आगामी कुनै पनि परीक्षामा सहभागी हुन नपाउने गरी कारबाही गरिएको छ।
आंशिकतर्फको नतिजा कमजोर
आंशिकतर्फ ८५ हजार ९२९ परीक्षार्थी सहभागी भएकामा ३६ हजार ४२० जनाले मात्र सबै विषयमा उत्तीर्ण ग्रेड प्राप्त गरेका छन्। यसअनुसार आंशिकतर्फ उत्तीर्ण दर ४२.३८ प्रतिशत रहेको छ।
बोर्डका अनुसार नियमिततर्फको उत्तीर्ण दर ६९.७५ प्रतिशत रहेको छ भने आंशिकतर्फ तुलनात्मक रूपमा नतिजा कमजोर देखिएको छ।
बोर्डले नतिजा सार्वजनिक भएको १५ दिनपछि ट्रान्सक्रिप्ट, माइग्रेसन र प्रोभिजनल प्रमाणपत्रका लागि प्रक्रिया सुरु गर्न सकिने जनाएको छ।
