`

नेकपाको तर्फबाट रास्वपा महाधिवेशनमा वर्षमान पुन जाने

Nepal One HD ६ असार २०८३ ११:४५
नेपाली कम्युनिष्ट पार्टी

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा सहभागी नहुने भएका छन्। उनको सट्टामा नेकपाका नेता वर्षमान पुन महाधिवेशनमा सहभागी हुने भएका छन्।

चितवनमा आइतबारदेखि सुरु हुने रास्वपाको पहिलो महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन रास्वपाले प्रचण्डलाई निमन्त्रणा दिएको थियो। तर स्वास्थ्य अवस्थाका कारण उनी कार्यक्रममा उपस्थित हुन नसक्ने भएपछि नेता पुनलाई प्रतिनिधिका रूपमा पठाउने निर्णय गरिएको हो।

प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार चिकित्सकले केही दिन आराम गर्न सुझाव दिएका कारण उनको सहभागिता सम्भव नभएको हो।

‘हिजोसम्म उहाँ जाने तयारीमै हुनुहुन्थ्यो। तर बाहिरको कार्यक्रमपछि स्वास्थ्यमा केही असहजता देखियो। चितवनको गर्मी र चिकित्सकको सल्लाहअनुसार दुई दिन आराम गर्नुपर्ने भएकाले उहाँ सहभागी हुन सक्नुहुन्न,’ आचार्यले भने।

प्रचण्ड जेठ १६ गते स्वास्थ्य समस्याका कारण अस्पताल भर्ना भएका थिए। केही दिन उपचारपछि डिस्चार्ज भए पनि उनी पूर्ण रूपमा स्वास्थ्यलाभ गरिसकेका छैनन्।

रास्वपाको महाधिवेशनमा नेकपाबाट वर्षमान पुन सहभागी हुनेछन् भने नेकपा (एमाले) ले केन्द्रीय सदस्य प्रदीप ज्ञवालीलाई प्रतिनिधिका रूपमा पठाउने भएको छ। त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन उद्घाटन समारोहमा स्वयं सहभागी हुने तय भएको छ।

यता, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले भने महाधिवेशनमा सहभागी नहुने जानकारी यसअघि नै दिएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *