रास्वपाको पहिलो चरणको मतदान सकिएपछि….
चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य निर्वाचनको पहिलो चरणको मतदान सम्पन्न भएको छ। सभापति रवि लामिछानेले मतदान गरेसँगै मतदान प्रक्रिया औपचारिक रूपमा सकिएको हो।
रास्वपाको केन्द्रीय निर्वाचन आयोगका अनुसार बिहीबार मध्याह्न साढे १२ बजे मतदान समाप्त भएको छ। आयोगले यसअघि मध्याह्न १२ बजेसम्म मतदानको समय तोकेको भए पनि अन्तिम चरणका मतदातालाई सहभागी गराउन केही समय थपिएको थियो।
केन्द्रीय सदस्य पदका लागि बुधबार राति १२ बजेदेखि विद्युतीय मतदान प्रणालीमार्फत मतदान सुरु गरिएको थियो। महाधिवेशनस्थलमा उपस्थित प्रतिनिधिहरूले इलेक्ट्रोनिक भोटिङ मेसिन (ईभीएम) मार्फत मतदान गरेका थिए ।
रास्वपाका प्रवक्ता मनिष झाका अनुसार प्रारम्भिक विवरणअनुसार करिब ३ हजार १ सय मत खसेको छ। महाधिवेशनमा ४ हजारभन्दा बढी प्रतिनिधि सहभागी रहेको बताइए पनि निर्वाचन आयोगले मतदान गर्ने प्रतिनिधिको अन्तिम संख्या सार्वजनिक गरेको छैन।
यसपटक ९९ जना केन्द्रीय सदस्य चयनका लागि सयौँ उम्मेदवार प्रतिस्पर्धामा छन्। महाधिवेशनको सबैभन्दा प्रतिस्पर्धात्मक चरणका रूपमा हेरिएको केन्द्रीय सदस्य निर्वाचनमा प्रतिनिधिहरूको उल्लेख्य सहभागिता देखिएको पार्टीले जनाएको छ।
तस्वीरहरू:









