गुटै गुटको रास्वपा
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन अन्तिम चरणमा पुग्दै गर्दा पार्टीभित्र दुई फरक धारको प्रभाव पदाधिकारी चयन प्रक्रियामा स्पष्ट रूपमा देखिएको छ।
सर्वसम्मतिको प्रयास भए पनि उम्मेदवारहरूको समर्थन र उम्मेदवारी फिर्ताको क्रमले संस्थापन पक्ष र अर्को धारबीचको ध्रुवीकरण सतहमा आएको हो।
रास्वपामा स्थापना कालदेखि सक्रिय नेताहरू र पछि पार्टीमा आबद्ध भएकाहरूबीच केही राजनीतिक मुद्दामा फरक धार देखिँदै आएको छ। महाधिवेशनका क्रममा पदाधिकारी चयनतर्फ बढ्दै जाँदा यही विभाजन उम्मेदवारहरूको समर्थन र चुनावी रणनीतिमा समेत प्रतिबिम्बित भएको छ।
महाधिवेशन उद्घाटन समारोहमा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र साहले पार्टीभित्र कुनै गुटबन्दी नरहेको दाबी गर्दै प्रतिनिधिहरूलाई समूहगत राजनीतिबाट टाढा रहन आग्रह गरेका थिए। उनीहरूले संगठनलाई व्यक्तिको होइन, संस्थाको रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका थिए।
तर पदाधिकारी चयनको चरणमा आइपुग्दा विभिन्न उम्मेदवारको समर्थन र उम्मेदवारी फिर्ताको निर्णयले पार्टीभित्रको ध्रुवीकरणबारे चर्चा सुरु भएको छ।
महामन्त्री पदका उम्मेदवार रहेका प्रमोद न्यौपानेले उम्मेदवारी फिर्ता लिँदै विपिनकुमार आचार्यलाई समर्थन गरेका छन्। समर्थन घोषणापछि उनले सामाजिक सञ्जालमा एउटा सामूहिक तस्बिर सार्वजनिक गर्दै ‘खासमा गुट चाहिँ यही हो है। असली चित्र चाहिँ मान्यज्यूहरूले देखाउनुभयो। पेवा होइन संगठन’ भन्ने टिप्पणी गरेका छन्।
यसअघि केन्द्रीय सदस्य निर्वाचनअघि पनि केही प्रतिनिधिलाई उम्मेदवारहरूको नाम समेटिएको सूची (चिट) वितरण गरिएको चर्चा चलेको थियो। पदाधिकारी निर्वाचनमा भने संस्थापन पक्षका नेताहरू एउटै उम्मेदवारको पक्षमा उभिएको देखिएको छ।
महामन्त्री पदका आकांक्षी प्रमोद न्यौपानेसँगै गणेश पराजुली, कविन्द्र बुर्लाकोटी, शिशिर खनाल र जगदीश खरेलले पनि उम्मेदवारी फिर्ता लिँदै विपिनकुमार आचार्यलाई समर्थन गरेका छन्। यससँगै महामन्त्री पदको प्रतिस्पर्धा सीमित उम्मेदवारबीच केन्द्रित भएको छ।
यद्यपि पार्टी नेतृत्वले भने महाधिवेशनलाई लोकतान्त्रिक प्रतिस्पर्धाको अभ्यासका रूपमा व्याख्या गर्दै निर्वाचन प्रक्रियाबाट नै नयाँ नेतृत्व चयन हुने जनाएको छ।
