`

सहोदर दाजुको हत्या,भाइ पक्राउ

Nepal One HD १५ असार २०८३ १४:२८
अपराध

काठमाडौं। बाँकेको कोहलपुर नगरपालिका–४ गोहवामा सामान्य विवादले दुःखद रूप लिँदा एक युवाको ज्यान गएको छ।

आफ्नै सहोदर दाजुको हत्या गरेको आरोपमा प्रहरीले २० वर्षीय विनोद चौधरीलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार पक्राउ परेका विनोदमाथि आफ्ना २६ वर्षीय दाजु मनोज चौधरीको हत्या गरेको आरोप लागेको छ। इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक हरिप्रसाद पुनका अनुसार आइतबार साँझ करिब ७ बजेतिर मदिरा सेवनपछि दाजुभाइबीच सामान्य विषयलाई लिएर विवाद भएको थियो।

विवाद चर्किँदै जाँदा मनोज भाइतर्फ जाइलाग्न खोजेका बेला विनोदले ठूलो ढुंगाले उनको टाउकोमा प्रहार गरेका थिए। ढुंगाको प्रहारपछि मनोज नजिकै रहेको सिक्टा सिँचाइ नहरमा खसेका थिए।

घटनाबारे सूचना प्राप्त भएपछि प्रहरी बिट मदनचोक र इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको टोली घटनास्थल पुगेको थियो। प्रहरी टोलीले नहरबाट मनोजको शव बाहिर निकाली पोस्टमार्टमका लागि भेरी अस्पताल, नेपालगञ्ज पठाएको जनाएको छ।

घटनापछि आरोपी विनोदले लगाएको कपडा फेरेर फरार भएको प्रहरीले जनाएको छ। उनको खोजीका लागि रातभर प्रहरी परिचालन गरिएको थियो।

सोमबार बिहान करिब साढे ६ बजे प्रहरी निरीक्षक पुनको नेतृत्वमा खटिएको टोलीले विनोदलाई नेपालगञ्ज उपमहानगरपालिका–१५ चनहवाबाट पक्राउ गरेको हो। प्रहरीका अनुसार उनी भारततर्फ भाग्ने प्रयास गरिरहेका बेला नियन्त्रणमा लिइएको थियो।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा विनोदविरुद्ध यसअघि पनि चोरीलगायतका आपराधिक मुद्दा दर्ता रहेको खुलेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *