`

विश्वकप लक्षित सट्टेबाजी, ३३१ जना पक्राउ

Nepal One HD १६ असार २०८३ ११:१८
अपराध

काठमाडौं। फिफा विश्वकप २०२६ लाई लक्षित गर्दै सञ्चालन भइरहेको अवैध खेलकुद सट्टेबाजी र अनलाइन जुवा नियन्त्रण अभियानअन्तर्गत मलेसियामा ३३१ जना पक्राउ परेका छन्।

विश्वकपलाई अवसर बनाएर अनलाइनमार्फत फैलिँदै गएको अवैध सट्टेबाजी सञ्जाल नियन्त्रण गर्न सुरक्षानिकायले देशव्यापी विशेष अभियान सञ्चालन गरेको हो।

मलेसियाली अधिकारीहरूका अनुसार पक्राउ परेका व्यक्तिहरूबाट करिब ३५ हजार अमेरिकी डलर नगद बरामद गरिएको छ। साथै अनुसन्धानका क्रममा छ लाख ४० हजार अमेरिकी डलरभन्दा बढी रकम बराबरको अवैध सट्टेबाजी कारोबार भएको खुलासा भएको छ।

बुकिट अमन आपराधिक अनुसन्धान विभागका निर्देशक एम. कुमार एस. मुथुवेलुले विज्ञप्तिमार्फत दिएको जानकारीअनुसार गत जुन ११ देखि सुरु भएको विशेष अभियान जुलाई १९ सम्म सञ्चालन हुनेछ। अभियान मलेसियन कम्युनिकेसन एन्ड मल्टिमिडिया आयोगको सहकार्यमा सञ्चालन भइरहेको छ।

उनका अनुसार हालसम्म देशभर २९३ स्थानमा छापा मारिएको छ। छापाका क्रममा अनलाइन जुवा सञ्चालन गर्ने समूह, खेलकुद सट्टेबाजीसँग सम्बन्धित नेटवर्क तथा डिजिटल माध्यमबाट जुवा प्रवर्द्धन गर्ने व्यक्तिहरूमाथि निगरानी बढाइएको छ।

अनुसन्धानका क्रममा फुटबल सट्टेबाजी तथा अनलाइन जुवा प्रवर्द्धनका लागि प्रयोग भइरहेका १८५ वटा वेबसाइट, विभिन्न अनलाइन प्लेटफर्म र सामाजिक सञ्जालका खाताहरू पहिचान गरिएको अधिकारीहरूले जनाएका छन्। ती माध्यममार्फत खेलप्रेमीलाई आकर्षित गर्दै अवैध सट्टेबाजीमा सहभागी गराउने प्रयास भइरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

अधिकारीहरूका अनुसार विश्वकपजस्ता अन्तर्राष्ट्रिय खेल प्रतियोगिताका बेला अवैध सट्टेबाजीको गतिविधि उल्लेखनीय रूपमा बढ्ने भएकाले यसपटक सुरुदेखि नै विशेष निगरानी र कारबाहीलाई तीव्र बनाइएको हो।

यस अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिइने र अवैध जुवा तथा सट्टेबाजी सञ्चालन गर्ने व्यक्ति वा समूहलाई कानुनी दायरामा ल्याइने मलेसियाली प्रहरीको भनाइ छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *