ससुराको धम्की दिएको दियै गर्दा बुहारीले गरिन् आत्महत्या
काठमाडौं । सप्तरीमा आफ्नै बुहारीलाई आत्महत्याका लागि दुरुत्साहन गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सप्तरीको बोदेबरसाईन नगरपालिका–४ सिलहट प्रसाहीका ४० वर्षीय रामेश्वर राम रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार गत असार १२ गते राति सरस्वती राम आफ्नै ओछ्यानमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन्। भोलिपल्ट बिहान शव फेला परेपछि प्रहरीले घटनाको अनुसन्धान थालेको थियो।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा मृतक सरस्वतीमाथि उनका ससुरा रामेश्वरले पटक–पटक यौनजन्य दुर्व्यवहार गर्ने गरेको खुलेको छ। उक्त विषय गाउँमा सार्वजनिक भएपछि स्थानीयस्तरमा पञ्चायत बसेको र त्यस क्रममा रामेश्वरले बुहारीलाई आफ्नो बयान फेर्न दबाब दिएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बयान नफेरे ज्यान मार्ने धम्कीसमेत दिइएपछि मानसिक तनाव सहन नसकी सरस्वतीले आत्महत्या गरेको प्रारम्भिक निष्कर्ष निकालिएको छ।
स्थानीय स्रोतका अनुसार गाउँमा बसेको पञ्चायतले पीडितलाई नै दोषी देखाउँदै घटनालाई दबाउने प्रयास गरेको थियो। उक्त पञ्चायतमा संलग्न अन्य व्यक्तिहरू फरार रहेकाले उनीहरूको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।
बोदेबरसाईन नगरपालिका–४ का वडाध्यक्ष किरण साहले घटना भएको पुष्टि गर्दै कानुनी प्रक्रिया अघि बढिसकेकाले तत्काल विस्तृत प्रतिक्रिया दिन नमिल्ने बताएका छन्।
प्रहरीले रामेश्वर रामविरुद्ध आत्महत्याका लागि दुरुत्साहन गरेको कसुरमा मुद्दा दर्ता गरेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) हेमराज घिमिरेका अनुसार जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर अभियुक्तमाथि थप अनुसन्धान भइरहेको छ।
