`

हात्ती आक्रमणका पीडितलाई राहत तथा समस्याको समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता

Nepal One HD २२ असार २०८३ ८:५६
प्रमुख खबर

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि तत्काल र दीर्घकालीन दुवै उपाय अवलम्बन गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् ।

शनिबार भरतपुर महानगरपालिका–२३ बेलहट्टामा जङ्गली हात्तीको आक्रमणबाट ज्यान गुमाएकी २५ वर्षीया आशिका बोटे र उनका चार वर्षीय छोरा भरत बोटेका परिवारसँग भेट गर्दै मन्त्री गौतमले पीडित परिवारलाई प्रतिव्यक्ति १० लाख रुपैयाँका दरले राहत उपलब्ध गराइने बताइन् ।

आवश्यक प्रक्रिया पूरा गरी राहत रकम यही २५ गतेभित्र हस्तान्तरण गर्ने तयारी भइरहेको उनले जानकारी दिइन् । मन्त्री गौतमले राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रमा वर्षौंदेखि देखिँदै आएको मानव–वन्यजन्तु द्वन्द्वको स्थायी समाधानका लागि सरकार गम्भीर रहेको भन्दै वन्यजन्तुको गतिविधि नियन्त्रण तथा निगरानीका लागि आधुनिक प्रविधिको प्रयोग गरिने बताइन् ।

उनले निकुञ्ज आसपासका क्षेत्रमा कमजोर घर संरचनाका कारण मानवीय क्षति बढ्दै गएको उल्लेख गर्दै सुरक्षित र बलिया आवास निर्माण आवश्यक रहेको बताइन् । साथै, समग्र गाउँवासीको सुरक्षाका लागि एकीकृत बस्ती वा सुरक्षित संरचना निर्माणको योजनामा समेत जोड दिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *