खामेनीका समर्थकको आँसु नक्कली : ट्रम्प
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका दिवंगत सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको अन्त्येष्टिमा लाखौं मानिस सहभागी भएको दृश्य आफूलाई अप्रत्याशित लागेको बताएका छन्।
एक अमेरिकी सञ्चारमाध्यमसँगको टेलिफोन अन्तर्वार्तामा ट्रम्पले खामेनीप्रति इरानी जनताको व्यापक असन्तुष्टि रहेको आफ्नो दाबी दोहोर्याउँदै अन्त्येष्टिमा देखिएको शोकप्रति समेत शंका व्यक्त गरेका हुन्।
उनले भने, “शोक समारोहमा केही मानिसहरू रोइरहेको देखेर म छक्क परेँ। मलाई लाग्छ उनीहरू खामेनीलाई घृणा गर्छन्। सायद ती आँसु नक्कली हुन सक्छन्।”
ट्रम्पले शोक समारोहमा उपस्थित इरानका शीर्ष नेतृत्व अमेरिकाको निगरानीमा रहेको दाबी गर्दै आवश्यक परे उनीहरूलाई “एकै प्रहारमा मार्न सकिन्छ” भने पनि त्यसो नगर्ने निर्णय गरिएको बताएका छन्।
उनका अनुसार इरानकै अनुरोधमा खामेनीको साताव्यापी शोक अवधि सकिएसम्म अमेरिकाले कुनै पनि सैन्य कारबाही नगर्ने निर्णय गरेको हो। अहिले आक्रमण गरिए भविष्यमा वार्ताका लागि आवश्यक पक्ष नै नरहने भएकाले संयम अपनाइएको उनको भनाइ थियो।
ट्रम्पको अभिव्यक्तिप्रति भने इरानले कडा प्रतिक्रिया जनाएको छ। इरानी अधिकारीहरूले उनको टिप्पणीलाई उक्साहटपूर्ण, गैरजिम्मेवार र अस्वीकार्य भएको भन्दै त्यसको आलोचना गरेका छन्।
