कोशी प्रदेशसभामा बजेटमाथि उठेका प्रश्नको मन्त्रीहरूले दिए जवाफ
विराटनगर। कोशी प्रदेशसभाको आजको बैठकमा विनियोजन विधेकयमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीहरुले दिनुभएको छ ।आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङ्थेपले सरकारले सार्वजनिक गरेको बजेटप्रति आलोचना हुनु स्वभाविक भएको उल्लेख गर्नुभयो । उहाँले यसपटकको बजेटले प्रदेशको जनताको मन छुने विश्वास व्यक्त गर्नुभयो । बजेटमा देखिएका त्रुटीलाई बजेट कार्यान्वयन हुनु अगावै सच्याउने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।
भौतिक पूर्वाधार विकासमन्त्री प्रदीपकुमार सुनुवारले स्रोत नबढाउने र विकासका योजना मात्र बढाउने प्रवृतिबाट समस्या देखिएको बताउनुभयो । उहाँले मन्त्रालयले प्राथमिकताका आधारमा झोलुङ्गे पुल, सडकका योजना छनौट गरेको उल्लेख गर्नुभयो ।
पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुली, खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री तिलचन पाठक र आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले विनियोजन विधेयकमाथि उठेका प्रश्नले जवाफदेही बन्न बल पुगेको बताउनुभएको थियो ।
