‘संवैधानिक राजसंस्था र सनातन सभ्यता हाम्राे मुख्य एजेन्डा हाे’ [भिडियाे-वार्ता]
काठमाडाैं। डा. धवलशम्शेर जबरा र दुर्गा प्रसाईंको नेतृत्वमा प्रस्तावित नयाँ राष्ट्रवादी दलले आफूलाई परम्परागत राजनीतिक दलभन्दा फरक ढंगले अघि बढाउने दाबी गरेको छ। प्रस्तावित दलका सचिवालय प्रमुख सगुनसुन्दर लावतीले नयाँ पार्टीले पछिल्लो समय देखिएको जनमत परिवर्तन, विशेषगरी ‘जेनजी विद्रोह’बाट सिर्जित राजनीतिक सन्देशलाई केन्द्रमा राखेर संगठन निर्माण गरिने बताएका छन्।
लावतीका अनुसार राप्रपाको विगतमा पटक-पटक विभाजन भएको इतिहास रहे पनि यसपटक बन्ने दलको संरचना, नेतृत्व शैली र राजनीतिक दृष्टिकोण फरक हुने दाबी गरे। उनले देशमा बदलिएको राजनीतिक परिस्थिति र जनताको अपेक्षालाई सम्बोधन गर्न नयाँ राजनीतिक शक्तिको आवश्यकता महसुस भएकाले नयाँ दल गठनको प्रक्रिया अघि बढाइएको बताए।
उनले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनप्रति संकेत गर्दै वर्तमान नेतृत्वले राजसंस्थावादी आन्दोलनलाई प्रभावकारी रूपमा अगाडि बढाउन नसकेको आरोप लगाए। ‘राजेन्द्र लिङ्देनले अब राजसंस्थावादी आन्दोलनको नेतृत्व गर्न सक्नुहुन्न। परम्परागत राजनीतिक अभ्यासले अब हामीलाई सही गन्तव्यमा पुर्याउन सक्दैन भन्ने हाम्रो निष्कर्ष हो,’ उनले भने।
यही कारण आफूहरू राप्रपाबाट अलग भएको उल्लेख गर्दै उनले परम्परागत राजनीतिक अभ्यासले अब अपेक्षित परिणाम दिन नसक्ने निष्कर्षमा पुगेको बताए।
लावतीका अनुसार नयाँ दलले युवालाई नेतृत्वको केन्द्रमा राख्नेछ। पार्टी संरचनादेखि निर्णय प्रक्रियासम्म नयाँ पुस्ताको सक्रिय सहभागिता सुनिश्चित गरिने उनको भनाइ छ। साथै, आधुनिक प्रविधिको उच्चतम प्रयोग गर्दै संगठन विस्तार गरिने र जेनजी पुस्ताको सोच तथा अपेक्षालाई राजनीतिक एजेन्डासँग जोडिने उनले बताए।
‘हामी परम्परागत मूल्य-मान्यता, ऐतिहासिक विरासत र सनातन सभ्यताको वकालत गर्छौँ। प्रविधिको उच्चतम प्रयोग गर्छौँ। जेनजी पुस्तालाई केन्द्रमा राखेर अघि बढ्छौँ,’ लावतीकाे दाबी छ।
उनले पार्टीका प्रमुख वैचारिक आधार मानव अधिकार, संसदीय प्रजातन्त्र, संवैधानिक राजसंस्था र सनातन हिन्दुराष्ट्र रहने स्पष्ट पारे। उनका अनुसार यी विषय अहिले पनि ठूलो जनसमूहको चाहना र विश्वाससँग जोडिएका एजेन्डा हुन्।
जनताले राजसंस्था र सनातन सभ्यताको पक्षमा मत व्यक्त गरिरहेको दाबी गर्दै उनले त्यसलाई संगठित राजनीतिक अभियानका रूपमा अघि बढाइने बताए।
लावतीले अहिले देशमा राष्ट्रिय एकताको साझा प्रतीक कमजोर भएको दाबी गर्दै जेनजी विद्रोहका क्रममा पनि त्यसको आवश्यकता महसुस भएको बताए। नेपालको सार्वभौमसत्ता, राष्ट्रिय स्वाधीनता र राष्ट्रिय एकतालाई सुदृढ बनाउन संवैधानिक राजसंस्था आवश्यक रहेको उनको तर्क छ।
उनले राजसंस्थालाई कुनै एक राजनीतिक दलको विषय नभई सम्पूर्ण नेपालीको साझा संस्थाका रूपमा स्थापित गर्नुपर्ने धारणा राखे। ‘हामी जनतामा निहित सार्वभौमसत्ता, स्वाधिनतालाई अक्षुण राख्दै राजसंस्थालाई राष्ट्रिय एकताको प्रतिकका रुपमा स्थापित गर्छौँ,’ उनले भने।
उनका अनुसार प्रस्तावित नयाँ पार्टीले सबै नेपाली नागरिकलाई समेट्ने उद्देश्य राख्नेछ। राजसंस्थालाई राष्ट्रिय एकताको प्रतीकका रूपमा पुनःस्थापित गर्दै लोकतान्त्रिक प्रणालीभित्र संवैधानिक राजसंस्थाको अवधारणालाई स्थापित गर्नु नै पार्टीको प्रमुख राजनीतिक लक्ष्य हुने उनले बताए।
लावती भन्छन्, ‘हाम्रो पार्टीले संवैधानिक राजसंस्थाको वकालत गर्छ। त्यस पार्टीको छातामुनि सबै नेपाली नागरिक आउनुपर्छ। राजसंस्था हामीलाई मात्र होइन, सम्पूर्ण देशलाई आवश्यक छ। राजसंस्था कुनै एउटा पार्टीको मात्र हुँदैन, यो सम्पूर्ण जनताको संस्था हो र जनताकै लागि हुन्छ।’
नयाँ दलले बदलिँदो समय, नयाँ पुस्ताको आकांक्षा र परम्परागत मूल्य-मान्यताबीच सन्तुलन कायम गर्दै वैकल्पिक राष्ट्रवादी शक्तिका रूपमा उदाउने दाबी पनि लावतीले गरेका छन्।
पूरा भिडियो:



