`

बाबु र छोरा एकैसाथ पक्राउ

Nepal One HD २४ असार २०८३ १२:५६
अपराध

रौतहट । रौतहटको ईशनाथ नगरपालिका–३ औरैयामा पुरानो जग्गा विवादका क्रममा भएको चक्कु प्रहारबाट एक जनाको मृत्यु भएको छ भने एक वृद्ध घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी वसन्त गौतमका अनुसार मंगलबार राति करिब ८ः१५ बजे स्थानीय ८० वर्षीय रामबहादुर साह, उनका ६० वर्षीय छोरीज्वाइँ बुटन साह तथा ६३ वर्षीय रामऔतार साह र उनका २६ वर्षीय छोरा राममहेश्वर साहबीच जग्गाको विषयलाई लिएर विवाद भएको थियो।

विवाद चर्किँदै जाँदा दुवै पक्षबीच हात हालाहालको अवस्था सिर्जना भएको र सोही क्रममा राममहेश्वर साहले बुटन साहमाथि चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ। चक्कु लागेर ढाडमा गम्भीर घाइते भएका बुटन साहलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल गौर पुर्‍याइएको थियो। उपचारकै क्रममा राति करिब ९ः०५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

घटनामा ८० वर्षीय रामबहादुर साह पनि टाउकोमा चोट लागेर घाइते भएका छन्। उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। प्रहरीका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ।

घटनापछि प्रहरीले चक्कु प्रहारका आरोपित राममहेश्वर साहलाई नियन्त्रणमा लिएको छ। झैझगडामा संलग्न रहेको आरोपमा उनका बुवा रामऔतार साहलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले घटनास्थलबाट आवश्यक प्रमाण संकलन गरी घटनाबारे थप अनुसन्धान अघि बढाएको छ। प्रारम्भिक अनुसन्धानबाट पुरानो जग्गा विवादकै कारण घटना भएको खुलेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *