देवरले गरे भाउजुको हत्या
मोरङ। मोरङको ग्रामथान गाउँपालिकामा देवरले खुकुरी प्रहार गरी आफ्नै भाउजूको हत्या गरेका छन्। घटनामा एक जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार ग्रामथान गाउँपालिका–६ झोवाबनीका २१ वर्षीय सौचन खवासले आफ्ना दाजु कपिल खवासकी २० वर्षीया श्रीमती सीमा राजवंशीमाथि धारिलो हतियार खुकुरी प्रहार गरेका थिए।
प्रहरीका अनुसार असार २२ गते राति करिब ८ः३० बजे भएको आक्रमणमा सीमाको घाँटीमा गम्भीर चोट लागेको थियो। घटनास्थलमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ। हत्याको कारण भने हालसम्म खुल्न नसकेको र घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
घटनाका क्रममा सीमाको उद्धार गर्न पुगेका ४४ वर्षीय शिवलाल खवास पनि घाइते भएका छन्। उनी सौचनका ठुलोबुबा नाता पर्ने व्यक्ति हुन्। खुकुरी प्रहारबाट उनको दाहिने कुममा गहिरो चोट लागेको छ। उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ।
घटनाको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय हरैचाबाट प्रहरी नायब निरीक्षक मोतिराज दाहाल र इलाका प्रहरी कार्यालय बेलबारीबाट प्रहरी निरीक्षक राजीव गिरीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो।
प्रहरीले घटनामा संलग्न सौचन खवासलाई घटनास्थलबाटै नियन्त्रणमा लिएको छ। उनलाई इलाका प्रहरी कार्यालय बेलबारीमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको मोरङका प्रहरी नायब उपरीक्षक सन्तोष श्रेष्ठले जानकारी दिएका छन्।
