पेस्तोल र गोलीसहित दुईजना पक्राउ
सुनसरी । प्रहरीले अवैध पेस्तोल र गोलीसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङको विराटनगर महानगरपालिका–१७ रानीबस्तीका ५१ वर्षीय नुर महम्मद र विराटनगर–८ अशोकचोकका ३२ वर्षीय इमरान खान भनिने मोहम्मद अहमद रहेका छन्।
प्रहरीका अनुसार उनीहरूलाई गएराति सुनसरीको गढी गाउँपालिका–१ मधेलीस्थित झण्डाचोक क्षेत्रमा पैदल हिँडिरहेको अवस्थामा शंकास्पद गतिविधिका आधारमा नियन्त्रणमा लिइएको हो।
खानतलासीका क्रममा उनीहरूको साथबाट एक थान चिनियाँ (चाइनिज) पेस्तोल, उक्त पेस्तोलमा प्रयोग हुने एक थान म्याग्जिन तथा तीन राउण्ड गोली बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानअनुसार नुर महम्मद यसअघि हातहतियार तथा खरखजाना र जबरजस्ती करणी उद्योग मुद्दामा दोषी ठहर भई १२ वर्ष कैद सजाय भुक्तान गरिसकेका व्यक्ति हुन्। उक्त मुद्दा २०६४ कात्तिक ८ गते जिल्ला प्रहरी कार्यालय मोरङमा दर्ता भएको थियो।
यस्तै, इमरान खान भनिने मोहम्मद अहमदविरुद्ध २०७५ चैत १९ गते जिल्ला प्रहरी कार्यालय मोरङमा चोरी मुद्दा दर्ता भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय दुहवीको हिरासतमा राखी हातहतियार तथा खरखजानासम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
