प्रशान्त राष्ट्रहरू चीनको क्षेप्यास्त्र परीक्षणविरुद्ध
काठमाडौं। प्रशान्त क्षेत्रका राष्ट्रहरूले चीनले हालै प्रशान्त महासागरमा गरेको रणनीतिक क्षेप्यास्त्र परीक्षणको विरोधमा कडा संयुक्त वक्तव्य जारी गर्ने तयारी गरेका छन्।
क्षेत्रीय सुरक्षा र स्थायित्वमा असर पर्ने भन्दै प्रशान्त टापु फोरमका सदस्य राष्ट्रहरूबीच संयुक्त धारणा तयार पार्ने प्रयास भइरहेको हो।
अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले प्रशान्त टापु फोरमका सदस्य राष्ट्रहरूबीच संयुक्त वक्तव्यको मस्यौदामाथि छलफल भइरहेको जानकारी दिएका छन्। ब्रिस्बेनमा पपुवा न्यू गिनी, टोङ्गा र सामोआका नेतासँग सुरक्षा वार्ताअघि सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रशान्त क्षेत्रका देशहरूले एउटै स्वरमा स्पष्ट र बलियो सन्देश दिनुपर्ने आवश्यकता औंल्याए। उनका अनुसार तयार पारिएको वक्तव्य निकै कडा प्रकृतिको छ।
चीनले सोमबार नक्कली वारहेड बोकेको रणनीतिक क्षेप्यास्त्र प्रशान्त महासागरमा परीक्षण गरेको थियो। उक्त परीक्षणप्रति अस्ट्रेलिया, न्युजिल्यान्ड, जापान र संयुक्त राज्य अमेरिकालगायतका देशहरूले सार्वजनिक रूपमा असन्तुष्टि जनाइसकेका छन्।
निगरानीकर्ताहरूका अनुसार क्षेप्यास्त्र सोलोमन टापु, नाउरू र तुभालुबीचको समुद्री क्षेत्रमा खसेको थियो।
चिनियाँ आर्थिक सहायता र पूर्वाधार ऋणमा निर्भर रहेका धेरै प्रशान्त राष्ट्रहरू सामान्यतया बेइजिङको सार्वजनिक आलोचना गर्न हिच्किचाउने गरेका छन्। तर यसपटक सोलोमन टापुले समेत क्षेप्यास्त्र परीक्षणप्रति असन्तुष्टि व्यक्त गरेको छ, जसलाई क्षेत्रीय कूटनीतिमा महत्वपूर्ण संकेतका रूपमा हेरिएको छ।
प्रधानमन्त्री अल्बानिजले टोङ्गाका प्रधानमन्त्री लर्ड फकाफानुआ, पपुवा न्यू गिनीका प्रधानमन्त्री जेम्स मारापे र सामोआका प्रधानमन्त्री ला’ओलियालिमालिएटोआ ल्युएटा श्मिटसँग क्षेत्रीय सुरक्षा, रक्षा सहकार्य र रणनीतिक साझेदारीका विषयमा छलफल गरिरहेका छन्। उनले प्रशान्त क्षेत्रको सुरक्षा सुनिश्चित गर्ने प्रमुख जिम्मेवारी क्षेत्रीय राष्ट्रहरूकै हुनुपर्नेमा जोड दिएका छन्।
अस्ट्रेलियाले पछिल्ला वर्षहरूमा चीनको बढ्दो प्रभावलाई सन्तुलनमा राख्ने रणनीतिअन्तर्गत प्रशान्त क्षेत्रका देशहरूसँग सुरक्षा सहकार्य विस्तार गर्दै आएको छ। त्यससँगै खेलकुद कूटनीतिमार्फत रग्बी लिग र रग्बी युनियन कार्यक्रमलाई पनि सम्बन्ध सुदृढ गर्ने माध्यमका रूपमा प्रयोग गरिरहेको छ।
चीनको क्षेप्यास्त्र परीक्षण अस्ट्रेलिया र फिजीबीच नयाँ रक्षा साझेदारी सम्झौतामा हस्ताक्षर भएकै दिन भएको थियो। क्यानबेराले पछिल्ला वर्षहरूमा दक्षिण प्रशान्तका विभिन्न राष्ट्रसँग सुरक्षा सहकार्यलाई तीव्र बनाएको छ।
फिजीका रक्षामन्त्री पियो टिकोडुआडुआले चीनलाई परीक्षणअघि नै यस्तो कदम नचाल्न आग्रह गरिएको बताएका छन्। उनका अनुसार यस्तो सैन्य गतिविधिले क्षेत्रीय विश्वास, पारस्परिक सम्मान र स्थायित्वमा नकारात्मक प्रभाव पार्नेछ।
उनले परीक्षणकै समयमा चीनको क्षेप्यास्त्र निगरानी जहाज युआन वाङ-५ फिजीको बन्दरगाहमा रहेको घटनालाई पनि असामान्य संयोगको रूपमा उल्लेख गरेका छन्।
