`

‘सभामुख अर्याल कान नसुन्ने भएका हुन्?’ (भिडियो-वार्ता)

जङ्ग तामाङ २४ असार २०८३ २२:२०
अन्तर्वार्ता/बिचार

काठमाडौं। बुधबारको प्रतिनिधिसभा बैठक केहीबेर तनावग्रस्त भयो। सम्बोधनका क्रममा नेकपा एमालेका सांसद राजेन्द्र राईले सुरुमै सभामुख डोलप्रसाद अर्याल (डिपी) लाई ‘तपाईं कान सुन्नुहुन्छ कि सुन्नुहुन्न ?’ भनेपछि सभामुख अर्याल राईसँग झोक्किए। उनले राईलाई नबोल्न निर्देशन नै दिए। आफूले राईले बोलेको कुराले आफ्नो अपमान भएको घोषणा गरे।

उसो त राई र सभामुख डोलप्रसाद अर्यालबीच बारम्बार नोकझोक चल्ने गरेको छ। बुधबार त राई बोल्दाबोल्दै सभामुख अर्यालले माइक नै काटिदिए। पछि आफ्नो अभिव्यक्ति सच्याउने र माफी माग्ने बताएका भन्दै सभामुख अर्यालले राईलाई फेरि बोल्न दिए। तर, राईले झन् कडा शब्दमा सभामुख अर्यालको भूमिकामाथि आलोचना गरे। त्यसपछि सदन बैठक नै स्थगित भयो।

यही सन्दर्भमा हामीले सांसद राईसँग भिडियो संवाद गरेका छौँ।

राईले प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्ति राष्ट्रहितअनुकूल नभएको भन्दै त्यसलाई सच्याउनुपर्ने धारणा राख्न खोज्दा आफ्नो माइक काटिएको बताए। उनका अनुसार प्रधानमन्त्रीलाई सदनमा बोलाउन सभामुखले रुलिङ गर्नुपर्छ।

राईले सभामुखलाई श्रवणशक्ति कम भएको भन्ने आशय आफ्नो नभएको स्पष्ट पार्दै जनताले गर्ने टिप्पणी उद्धृत गर्न खोज्दा नै माइक काटिएको दाबी गरे। उनै सांसद राईसँग नेपालवान एचडीका लागि जङ्ग तामाङले गरेको संवादको सम्पादित र संक्षिप्त अंश यहाँ प्रस्तुत छ–

०००

तपाईंले सभामुख डोलप्रसाद अर्याललाई ‘कान सुन्नु हुन्न क्या हो?’ भन्नुभएछ। किन भन्नुभएको ?

सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहले जुन अभिव्यक्ति दिनुभएको छ, त्यो राष्ट्रको हितका निम्ति छैन। यसलाई सच्याउनुपर्छ र सुधार्नुपर्छ। सभामुखले रुलिङ (सदनमा आउन प्रधानमन्त्री बालेनलाई निर्देशन) गर्नुपर्‍यो। प्रधानमन्त्रीलाई सदनमा डाक्नुपर्‍यो भन्ने सन्दर्भमा मैले भन्न खोज्दै गर्दा उहाँ (सभामुख अर्याल) ले माइक काट्नुभयो। उहाँको मुड निराश थियो। आक्रोश थियो। उहाँले रिस ममाथि पोख्नुभयो।

तर, सुरुमै ‘कान सुन्नु हुन्न क्या हो ?’ भनेर सभामुखलाई श्रवणशक्ति कम भएको भन्न खोज्नुभएको तपाईंले ?

होइन, उहाँ त बाठै मान्छे हो, त्यस्तो किन भन्थेँ र ? तर, जनताको भनाइ त्यस्तो थियो। मैले चाहिँ के भन्न खोजेको थिएँ भने, ‘सम्माननीय सभामुख महोदय, तपाईंलाई म एउटा निवेदन गर्न चाहन्छु, तपाईं अलिक कान सुन्नु हुन्न क्या हो ? जनताले भन्छन्’ भन्ने कुरा सुरु गर्दै गर्दा उहाँले माइक काट्नुभयो।

तपाईं र सभामुखबीच नोकझोक भएको यो पहिलोपटक त होइन। बारम्बार यस्तो किन भइरहेको छ ?

पहिलो कुरा, सदनमा थिति बसालौँ। विधिमा चलाऔँ। मैले पहिले पनि भन्ने गरेको छु– संविधान हामीले बनाएको हो। प्रतिनिधिसभा नियमावली उहाँहरूले जबर्जस्ती बनाउनुभएको हो। यो नियमावली कार्यान्वयनलाई व्यवस्थित गरौँ भन्ने मान्यताले सभामुखलाई मैले निवेदन गरेको हुँ।

सभामुखको अपहेलना गरेर, मानमर्दन गरेर सदनको गरिमा रहन्छ ?

सभामुखलाई मैले सम्मान गरेको छु, आदर गरेको छु। उहाँ जनताबाट चुनिएको प्रतिनिधि र सदनका सदस्यहरूले बनाएको सभामुख हो। उहाँलाई अपमान गर्ने कुरै छैन। मेरो कुरा यति मात्रै हो, सदनलाई व्यवस्थित गरौँ, मर्यादित बनाऔँ भन्ने हो। सभामुखको जुन किसिमको गरिमा छ नि, त्यसलाई उच्च बनाऔँ भन्ने हाम्रो त मान्यता हो।

गरिमा त तपाईंले पनि राख्नुपर्छ होला नि सांसदका रूपमा ?

हामी त विधिसम्मत छौँ। जुन नियमावली छ, त्यसलाई पकडेर, आधार मानेर कुरा गरेको हो।

तपाईंलाई सभामुखले ‘बोल्नुहोस् माननीयज्यू, अघि बढ्नुहोस् माननीयज्यू’ भन्दा पनि ‘म बोल्दिनँ, म अघि बढ्दिनँ’ भन्नुहुन्छ। तपाईं किन यस्तो जिद्दी गर्नुहुन्छ रोस्ट्रममा ?

मैले जिद्दी गरेको होइन। बजेटसम्बन्धी छलफलमा सम्बन्धित मन्त्रालयको मन्त्री अनिवार्य हुनुपर्दैन ? कसले सुन्ने ? सभामुखले सुन्ने ? अरू सांसदहरूले सुन्ने ? पत्रकारले सुन्ने ? विषयगत मन्त्रीहरूले सुन्नुपरेन ? छलफलबाट आएको विषय के हो ? कहाँ-कहाँ समस्या भयो ? त्यसको समाधान के हो ? मन्त्रीले बोल्नुपरेन ? जवाफ दिनुपरेन ? मैले त नियमावली कार्यान्वयन गर्न खोजेको हुँ।

अनि, तपाईंले सभामुखलाई ‘तपाईंले सदन पाँच वर्ष चलाउन सक्नुहुन्न’ भनेर भन्नुभएको रहेछ। के आधारमा यस्तो भन्नुभएको हो ?

मलाई के लाग्यो भने उहाँको जुन शैली छ नि, उहाँले कुनै मन्त्रीलाई जवाफदेही बनाउन सक्नुभएको छैन। सक्नुभयो त ?

उहाँले प्रधानमन्त्री र मन्त्रीहरूलाई रुलिङ गर्नुपर्थ्यो ?

पर्थ्यो। मन्त्रीहरूलाई रुलिङ गर्नुपर्थ्यो। आजसम्म मैले देखेको छैन।

मन्त्रीहरू आउनुभएको छ, प्रधानमन्त्री मात्रै आउनुभएको छैन नि ?

सुन्नुहोस्, जुन मन्त्रालयको छलफल भएको छ, त्यसमा आउनुभएको छैन। उसो भए आज किन स्थगित भयो सदन ?

तपाईंको अभिव्यक्तिले ?

मेरो अभिव्यक्तिले मात्रै होइन, पछि किन स्थगित भयो त ? सुन्नुहोस्, क्याबिनेट मिटिङ (मन्त्रिपरिषद् बैठक) थियो अरे। त्यसो भन्न मिल्छ ? सदन र मन्त्रिपरिषद् बैठकलाई मिलाउनु पर्दैन ?

सदनअघि वा पछि मन्त्रिपरिषद् बैठक राख्नुपर्थ्यो भन्ने तपाईंको माग हो ?

हो। एकैचोटि गर्न मिल्छ ? दुनियाँमा कहीँ नभएको चिज गर्नु हुँदैन। यो बेठिक छ।

प्रधानमन्त्री बालेनले १७ जेठमा संसदमा आएर ‘नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ’ भनेपछि तपाईंहरू उहाँले क्षमा माग्नुपर्छ, जवाफ दिनुपर्छ र संसदको रेकर्डबाट हटाउनुपर्छ भन्दै हुनुहुन्छ। उहाँले माफी माग्ने केही गर्नुभएको छैन। कहिलेसम्म विरोध गर्नुहुन्छ तपाईंहरू ?

पहिलो कुरा, प्रधानमन्त्री हाम्रो अभिभावक हो। सदनको अभिभावक हो र नेपाली जनताको पनि। जुन ढंगले उहाँ सदनमा प्रस्तुत हुनुभयो, त्यो उहाँले दिएको अभिव्यक्ति फिर्ता लिनुपर्छ। अनि त्यो रेकर्डबाट हटाइनुपर्छ भन्ने विषयमा प्रतिपक्षहरू एउटै गति र लयमा विरोध गरिरहेका छौँ। जबसम्म उहाँ आउनुहुन्न (संसदमा), तबसम्म हामी विरोध गरिरहन्छौँ र उहाँ आउनुपर्छ। नआई हुँदैन।

उहाँ (प्रधानमन्त्री) सदनमा आउने कुनै छाँट छैन त ?

अहिलेसम्म छाँट छैन। भोलि हुन्छ।

सभामुखले रुलिङ गर्न चाहनुभएको छैन ?

हो, त्यसैले त सभामुखले रुलिङ गर्न सक्नुपर्छ।

किन रुलिङ गर्नुभएन होला ?

आफू कमजोर भएर। मैले भन्नुपर्ने कुरै भएन नि।

कतै अहिले सत्ताको छायाँ सभामुखमाथि परेको हो ?

सत्ताको छायाँ परेरै उहाँले ताउरमाउर गर्न सक्नुभएको छैन। म भन्न चाहन्छु कि सम्माननीय सभामुखले तत्काल रुलिङ गरेर प्रधानमन्त्रीलाई रोस्ट्रममा उभ्याउनुपर्छ। उहाँको विवादित अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्छ।

प्रधानमन्त्री बालेनले रास्वपाको महाधिवेशनमा यसबारे केही स्पष्टीकरण दिनुभएको थियो। तर, तपाईंहरू किन सदनमै आएर जवाफ दिनुपर्छ भनिरहनुभएको छ ?

महाधिवेशनमा के गर्नुभयो ? त्यो उहाँको कुरा हो। तर, उहाँले जुन संसदमा बोल्नुभयो, संसदमै आएर जवाफ दिनुपर्छ। ‘मैले गल्ती गरेँ’ भन्दै सदनबाट क्षमा माग्नुपर्छ।

क्षमा चाहिँ माग्नैपर्छ ?

पर्छ।

परराष्ट्रमन्त्री शिशिर खनालले जवाफ दिइसक्नुभयो त ?

होइन, त्यता नजाऔँ न। उहाँको त्यो जिम्मेवारीको कुरा होला। तर, शिशिर खनालले त्यसो भनेको (‘नेपालले पनि भारतको जग्गा मिचेको रहेछ’) त होइन नि सदनमा।

भनेपछि प्रधानमन्त्री बालेनले सदनमा जवाफ नदिउञ्जेलसम्म गतिरोध अन्त्य हुँदैन ?

हाम्रो आन्दोलन निरन्तर जारी रहन्छ।

तर, प्रधानमन्त्री बालेनले दिएको एउटा अभिव्यक्तिलाई लिएर कानुन निर्माण गर्नुपर्ने सांसदहरू किन एउटै विषयमा अल्झिरहेका छन् भनेर जनताले आलोचना गर्न थालेका छन् नि ?

पहिलो कुरा त प्रधानमन्त्रीले दिनुभएको जुन अभिव्यक्ति छ नि, त्यो राष्ट्रघाती अभिव्यक्ति हो। तपाईंले भनेजस्तै नेपाली जनताले कानुन निर्माण गर्नुपर्ने बेला सदन अवरोध गरेको भन्ने लाग्दैन। नेपाली जनताले त ‘तपाईंहरूले दह्रो ढंगले कुरा राख्नुपर्‍यो’ भनिरहेका छन्। प्रधानमन्त्रीले आम जनतासँग माफी माग्नुपर्छ भनिरहेका छन्।

थुप्रै विधेयकहरू पारित गर्नुपर्छ। जनजीविकाका मुद्दा सदनमा उठाउनुछ। तर, एउटै विषयले झण्डै डेढ महिनादेखि सदन अवरोध जारी राख्दा विपक्षी दलहरूप्रति जनताको नकारात्मक धारणा बन्दैन ?

पहिलो कुरा, यो सामान्य कुरा हो ? हामीले सार्वभौमसत्ताको रक्षाका निम्ति, मुलुकको अखण्डताका निम्ति बोलिरहेका छौँ। नेपाली जनताले लामो समयदेखि यो विषय उठाउँदै आएका छन्। इतिहास तपाईंलाई पनि थाहा छ, अंग्रेजसँग पनि लडाइँ गर्‍यौँ। हामीले उठाउँदै आएको मूल मुद्दा पनि थाहा छ। प्रधानमन्त्रीजस्तो व्यक्तिले त्यसो भन्न मिल्दैन।

पूरा भिडियो:


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *