`

बाल मन्दिर जग्गा हिनामिना प्रकरणमा तीन जना पक्राउ

Nepal One HD २५ असार २०८३ ११:१९
अपराध

काठमाडौं । नेपाल बाल संगठन (बाल मन्दिर) को जग्गा हिनामिना प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले तीन जनालाई पक्राउ गरेको छ।

सिआइबीका एसएसपी अनुपम शमशेर जबराका अनुसार ठगीसम्बन्धी कसुरमा अनुसन्धान गर्न तीन जनालाई नियन्त्रणमा लिइएको हो। पक्राउ परेकाहरूको परिचय भने हाल सार्वजनिक गरिएको छैन।

‘तीन जनालाई नियन्त्रणमा लिएका छौं। थप विवरण केही बेरमा सार्वजनिक गर्छौं,’ एसएसपी जबराले बताए।

बाल मन्दिरसम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोग–२०७७ को प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा उनीहरूलाई पक्राउ गरिएको सिआइबीले जनाएको छ। आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारी निर्णयपछि सिआइबीले प्रतिवेदन अध्ययन गर्दै अनुसन्धान प्रक्रिया अघि बढाएको थियो।

यसअघि पनि सिआइबीले यही प्रकरणमा अनुसन्धान गरी १७ जनाविरुद्ध मुद्दा दायर गरिसकेको छ। उक्त मुद्दामा ६० करोड ३९ लाख ७७ हजार २३१ रुपैयाँ बिगो मागदाबी गरिएको थियो।

नेपाल बाल संगठनलाई आर्थिक नोक्सानी पुर्‍याउने उद्देश्यले २०४९ देखि २०७२ सालसम्म पटक–पटक न्यून भाडादरमा जग्गा सम्झौता गरिएको आरोपमा यस प्रकरणको अनुसन्धान भइरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *