`

डिसेम्बरमा बंगलादेश फर्किँदै हसिना

Nepal One HD २६ असार २०८३ १७:३७
बिशेष

एजेन्सी। भारतमा निर्वासित जीवन बिताइरहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आगामी डिसेम्बरमा स्वदेश फर्केर अदालतमा आत्मसमर्पण गर्ने घोषणा गरेकी छन्। मृत्युदण्डको सजाय सुनाइएकी हसिनाले आफू अवामी लिगका वरिष्ठ नेताहरूसहित स्वेच्छाले बंगलादेश फर्किने बताएकी हुन्।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम ‘रोयटर्स’सँग करिब एक घण्टा लामो टेलिफोन अन्तर्वार्तामा ७८ वर्षीया हसिनाले स्वदेश फर्किएपछि आफू पक्राउ पर्न सक्ने वा हत्या हुन सक्ने जोखिम रहेको स्वीकार गरिन्। त्यसका बाबजुद पनि आफू निर्णयबाट पछि नहट्ने उनको भनाइ छ।

‘मलाई स्वदेश फर्किनेबित्तिकै पक्राउ गर्न सक्छन्, हत्या पनि गर्न सक्छन्। तैपनि म फर्किनैपर्छ। मेरा पार्टीका नेता र कार्यकर्तामाथि अत्यन्त दमन भइरहेको छ। यदि मेरो मृत्यु हुन्छ भने आफ्नै देशको भूमिमा होस्, जहाँ मेरा आमाबुबा समाधिस्थ छन् र जहाँ उनीहरूको रगत बगेको थियो,’ उनले भनिन्।

सन् २०२४ मा विद्यार्थी नेतृत्वको आन्दोलन चर्किएपछि सत्ता गुमाएकी हसिना भारत पुगेकी थिइन्। विभिन्न कार्यकाल गरी करिब दुई दशकसम्म बंगलादेशको नेतृत्व गरेकी उनीमाथि आन्दोलन दबाउन घातक आदेश दिएको आरोप लगाइएको छ।

गत नोभेम्बरमा बंगलादेशको युद्ध अपराध अदालतले अनुपस्थितिमै उनलाई मृत्युदण्डको सजाय सुनाएको थियो। हसिनाले भने आफूमाथि लगाइएका सबै आरोप अस्वीकार गर्दै आएकी छिन् र ती आरोप राजनीतिक प्रतिशोधबाट प्रेरित रहेको संकेत गरेकी छन्।

हसिनाको सम्भावित स्वदेश फिर्तीले बंगलादेशको राजनीतिक ध्रुवीकरणलाई थप तीव्र बनाउन सक्ने विश्लेषण गरिएको छ। अर्कोतर्फ, भारतमा उनको उपस्थितिका कारण चिसिएको भारत–बंगलादेश सम्बन्धमा पनि यसले प्रभाव पार्न सक्ने अनुमान गरिएको छ।

बंगलादेश सरकारले हसिनालाई सुपुर्दगी गर्न भारतसँग पटक–पटक आग्रह गर्दै आएको छ। तर हसिनाले आफूलाई भारतले हस्तान्तरण गर्नुअघि नै स्वेच्छाले स्वदेश फर्किने स्पष्ट पारेकी छन्।

निर्वासनपछि पहिलो पटक विस्तृत अन्तर्वार्ता दिएकी हसिनाले आफ्नो स्वदेश फिर्तीबारे कुनै पनि विदेशी सरकारसँग छलफल नगरेको बताइन्। साथै अदालतमा आत्मसमर्पण गर्ने र डिसेम्बरमा स्वदेश फर्किने समयसीमा सार्वजनिक गरेको यो पहिलो पटक हो।

हसिनासँगै स्वदेश फर्कने तयारीमा रहेका अवामी लिगका नेतामध्ये पूर्वगृहमन्त्री असादुज्जमान खान कमाललाई पनि अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाइएको छ। अन्य नेताहरूको अवस्थाबारे भने स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन।

ढाकास्थित अन्तरिम सरकारले हसिनाको पछिल्लो अभिव्यक्तिबारे हालसम्म कुनै प्रतिक्रिया दिएको छैन। भारतको विदेश मन्त्रालयले पनि यस विषयमा टिप्पणी गर्न अस्वीकार गरेको छ। यसअघि भारतले बंगलादेशको सुपुर्दगी अनुरोध अध्ययनको क्रममा रहेको र नयाँ बंगलादेशी सरकारसँग रचनात्मक सम्बन्ध कायम राख्न चाहेको जनाएको थियो।

बंगलादेशका संस्थापक नेता शेख मुजीबुर रहमानकी छोरी हसिना सन् १९७५ मा आफ्ना पिता र परिवारका अधिकांश सदस्यको सैनिक कूमा हत्या भएपछि राष्ट्रिय राजनीतिमा सक्रिय भएकी थिइन्। प्रारम्भिक राजनीतिक जीवनमा लोकतन्त्र पुनःस्थापनाको अभियान चलाएकी उनले बंगलादेशको आर्थिक विकासमा महत्वपूर्ण योगदान दिएको श्रेय पाएकी छन्।

यद्यपि, लामो शासनकालमा विपक्षीमाथि दमन, अभिव्यक्ति स्वतन्त्रतामाथि नियन्त्रण र लोकतान्त्रिक संस्थाहरू कमजोर बनाएको आरोप पनि उनीमाथि लाग्दै आएको छ। हसिनाले भने ती सबै आरोप निरन्तर अस्वीकार गर्दै आएकी छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *