`

कतारका पूर्वराजाको निधन,तीन दिन राष्ट्रिय शोक घोषणा

Nepal One HD २८ असार २०८३ १२:२०
विश्व

काठमाडौं। कतारका पूर्व अमिर शेख खलिफा बिन हमद अल थानीको ८४ वर्षको उमेरमा निधन भएको छ। कतारको शाही प्रशासन ‘अमिरी दिवान’ले आइतबार विज्ञप्तिमार्फत उनको निधन भएको पुष्टि गरेको हो।

अमिरी दिवानले जारी गरेको शोक सन्देशमा स्वर्गीय शेख खलिफालाई राष्ट्रको विकास र स्थायित्वका लागि महत्वपूर्ण योगदान पुर्‍याएका दूरदर्शी नेताका रूपमा स्मरण गर्दै उनको आत्माको चिरशान्तिको कामना गरेको छ।

पूर्व अमिरको निधनप्रति सम्मान व्यक्त गर्दै वर्तमान अमिर शेख तामिम बिन हमद अल थानीले देशभर तीन दिन राष्ट्रिय शोक घोषणा गरेका छन्। शोक अवधिभर राष्ट्रिय झण्डा आधा झुकाइने तथा राजकीय सम्मानका साथ शोक कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।

शेख खलिफा बिन हमद अल थानीले सन् १९७२ देखि १९९५ सम्म कतारको शासन सञ्चालन गरेका थिए। उनको नेतृत्वकाललाई आधुनिक कतारको विकास यात्राको महत्वपूर्ण चरणका रूपमा लिइन्छ। यही अवधिमा देशको प्रशासनिक संरचना सुदृढ बनाउने, पूर्वाधार विस्तार गर्ने तथा तेल र प्राकृतिक ग्यासबाट प्राप्त आम्दानीलाई राष्ट्रिय विकासमा उपयोग गर्ने नीति अघि बढाइएको थियो।

कतारको आर्थिक तथा संस्थागत विकासको आधार निर्माणमा उनको योगदान उल्लेखनीय मानिन्छ। उनले देशलाई आधुनिक राज्य व्यवस्थातर्फ अघि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको अन्तर्राष्ट्रिय विश्लेषकहरूको भनाइ छ।

उनको निधनसँगै कतारले आधुनिक राष्ट्र निर्माणका प्रारम्भिक चरणका एक प्रमुख नेतृत्वकर्तालाई गुमाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *