दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया, कस्तो छ अवस्था ?
काठमाडौं। चर्चित नेपाली अभिनेत्री तथा चलचित्र निर्देशक दीपाश्री निरौलाको मस्तिष्कमा रहेको ट्युमर सफलतापूर्वक शल्यक्रिया गरी पूर्ण रूपमा निकालिएको अन्नपूर्ण न्यूरो अस्पतालले जनाएको छ।
अस्पतालका अनुसार शल्यक्रियापछि उनको स्वास्थ्य अवस्था स्थिर रहेको छ भने हालसम्म कुनै नयाँ न्युरोलोजिकल जटिलता देखिएको छैन।
अस्पतालले जारी गरेको आधिकारिक प्रेस विज्ञप्तिअनुसार असार २३ गते वरिष्ठ न्युरो सर्जन डा. बसन्त पन्तको नेतृत्वमा डा. सुदन ढकाल, डा. नवीन पन्थी, डा. शम्भुबहादुर कार्की, एनेस्थेसिया विभाग तथा नर्सिङ विभागकी आइषा रेग्मी सहितको विशेषज्ञ टोलीले शल्यक्रिया सम्पन्न गरेको हो।
विज्ञप्तिअनुसार शल्यक्रियाका क्रममा मस्तिष्कमा रहेको ट्युमर पूर्ण रूपमा निकाल्न चिकित्सकहरू सफल भएका छन्। शल्यक्रियापछि दीपाश्रीको स्वास्थ्य अवस्था सन्तोषजनक रहेको र उनी चिकित्सकहरूको निगरानीमा उपचाररत रहेको अस्पतालले जनाएको छ।
अस्पतालका अनुसार उनलाई केही दिन अस्पतालमै राखेर नियमित स्वास्थ्य परीक्षण र निगरानी गरिनेछ। निकालिएको ट्युमरको प्रकृति (बायोप्सी) सम्बन्धी परीक्षण भइरहेको छ भने अन्तिम प्रतिवेदन आएपछि आवश्यक परे थप उपचारबारे निर्णय गरिनेछ।
अस्पताल प्रशासनले उपचारका लागि स्वदेशकै स्वास्थ्य संस्थामाथि विश्वास गरेकोमा निरौला र उनको परिवारप्रति आभार व्यक्त गर्दै उनको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
