पूर्वप्रदेश प्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दोषी ठहर
काठमाडौं । मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराज (राजेश झा) बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट दोषी ठहर भएका छन्।
जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले मंगलबार उनलाई दोषी ठहर गर्दै सजाय निर्धारणका लागि बिहीबारको पेशी तोकेको हो।
अदालतले दोषी ठहर गरेसँगै अहिले केन्द्रीय कारागार, सुन्धारामा पुर्पक्षका क्रममा रहेका अहिराजले अब उक्त मुद्दामा कानुनबमोजिम सजाय भोग्नुपर्ने भएको छ। अदालतले बिहीबार हुने सुनुवाइपछि कैद सजाय र जरिवानाबारे अन्तिम फैसला सुनाउनेछ।
यसअघि उच्च अदालत पाटनले पनि जिल्ला अदालत काठमाडौंले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेशलाई सदर गरेको थियो। त्यसपछि उनी निरन्तर कारागारमै रहेका छन्।
अहिराजमाथि आफ्नै घरमा सहयोगका लागि बस्दै आएकी युवतीलाई बलात्कार गरेको आरोप लागेको थियो। पीडितको उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको थियो। अभियोगअनुसार काठमाडौंको थापागाउँस्थित निवासमा २०८१ जेठ ४ गते युवतीमाथि जबर्जस्ती करणी गरिएको उल्लेख छ। घटनापछि पीडितले कानुनी उपचारको माग गर्दै प्रहरीमा उजुरी दिएकी थिइन्।
अनुसन्धानका क्रममा लामो समय भारतमा रहेका अहिराज नेपाल फर्किएपछि पक्राउ परेका थिए। त्यसपछि अदालतको आदेशअनुसार उनी पुर्पक्षका लागि थुनामा राखिएका थिए र मुद्दाको सुनुवाइ अघि बढाइएको थियो।
अभियोजन पक्षले पीडितको बयान, चिकित्सकीय प्रतिवेदन, अनुसन्धानबाट सङ्कलित प्रमाण तथा अन्य साक्ष्यका आधारमा अदालतमा अभियोग पुष्टि हुने दाबी गरेको थियो। अदालतले प्रस्तुत प्रमाणहरूको मूल्याङ्कनपछि उनलाई दोषी ठहर गरेको हो।
राजेश अहिराज मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख हुनुका साथै पत्रकारिता क्षेत्रमा पनि सक्रिय थिए। उनी मधेशवाणी साप्ताहिक पत्रिकाका सम्पादक तथा प्रकाशकका रूपमा परिचित थिए भने मधेश आन्दोलन र मधेशवादसम्बन्धी अध्ययन–अनुसन्धानका कारण पनि चिनिन्थे।
उनी २०७७ फागुन ७ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा मधेश प्रदेश प्रमुख नियुक्त भएका थिए। पछि सरकार परिवर्तनसँगै उनी पदमुक्त भएका थिए।
अब अदालतले बिहीबार हुने सजाय निर्धारण सुनुवाइमार्फत उनीमाथि लाग्ने कैद सजाय र अन्य कानुनी व्यवस्था सम्बन्धी अन्तिम निर्णय सुनाउनेछ।
