नेपाली सिनेमाको ‘हिट जोडी’ : दयाहाङ-मिरूना
काठमाडौं । नेपाली चलचित्र उद्योगमा पछिल्लो समय कथावस्तु र पात्रलाई केन्द्रमा राखेर फिल्म निर्माण गर्ने प्रवृत्ति बढ्दो छ। निश्चित नायक–नायिकाको जोडीलाई दोहोर्याउने चलन केही कम हुँदै गएको देखिए पनि अभिनेता दयाहाङ राई र अभिनेत्री मिरूना मगरको जोडी भने त्यसको अपवाद बनेको छ।
पछिल्ला चार वर्षमा यो जोडीले लगातार एकपछि अर्को फिल्ममा सहकार्य गर्दै दर्शकमाझ बलियो छाप छोडेको छ। सन् २०२२ मा प्रदर्शनमा आएको ‘कबड्डी ४’ बाट सुरु भएको सहकार्य अहिले नेपाली फिल्म उद्योगकै सबैभन्दा सफल रिल जोडीमध्ये एकका रूपमा स्थापित भएको छ।
दयाहाङ र मिरूनाको जोडीलाई वास्तविक उचाइ भने ‘जारी’ ले दियो। यो फिल्मको सफलतापछि उनीहरूको जोडीलाई लिएर निर्माता–निर्देशकको चासो उल्लेखनीय रूपमा बढ्यो। त्यसयता उनीहरूले लगातार विभिन्न परियोजनामा सँगै काम गरिरहेका छन्।
मिरूनाको करिअरलाई हेर्दा पनि दयाहाङसँगको सहकार्य एउटा टर्निङ प्वाइन्ट बनेको देखिन्छ। ‘कबड्डी ४’ अघि उनले अभिनय गरेका फिल्मले अपेक्षित सफलता पाएका थिएनन्। तर दयाहाङसँग लगातार सफल फिल्म दिएपछि उनी नेपाली फिल्म उद्योगकी व्यस्त र चर्चित अभिनेत्रीमध्ये एक बनेकी छन्।
हालसम्म मिरूनाले अभिनय गरेका सफल चलचित्रमध्ये अधिकांशमा दयाहाङ नै नायक छन्। ‘कबड्डी ४’, ‘जारी’, ‘जारी २’ र ‘घर ज्वाइँ’ जस्ता फिल्मले उल्लेखनीय व्यापार गरेका छन् भने अन्य केही फिल्मले पनि सन्तोषजनक प्रदर्शन गरेका छन्। उनीहरूको सहकार्य भएका फिल्ममध्ये आधाभन्दा बढीले बक्स अफिसमा सफलता हासिल गरेका छन्, जुन नेपाली चलचित्र उद्योगमा उल्लेखनीय मानिन्छ।
मिरूनाको फिल्मी यात्रामा दयाहाङसँगको सहकार्यको प्रभाव स्पष्ट देखिन्छ। उनले हालसम्म अभिनय गरेका १४ मध्ये ८ फिल्ममा दयाहाङसँगै स्क्रिन शेयर गरेकी छन्। दयाहाङबिना अभिनय गरेका उनका थोरै फिल्ममध्ये ‘ऊनको स्वीटर’ मात्र उल्लेखनीय रूपमा सफल भएको मानिन्छ।
यो जोडीको सहकार्य अझै जारी रहने संकेत पनि देखिएको छ। ‘कबड्डी ५’ को छायांकन सम्पन्न भइसकेको छ भने ‘रातो घेरा’ को निर्माण प्रक्रिया पनि सुरु भइसकेको छ। यी दुई फिल्मले पनि दयाहाङ–मिरूनाको सफल सहकार्यलाई निरन्तरता दिने अपेक्षा गरिएको छ।
लगातार सफल फिल्म, बलियो स्क्रिन केमिस्ट्री र दर्शकको सकारात्मक प्रतिक्रिया हेर्दा दयाहाङ राई र मिरूना मगर अहिले नेपाली सिनेमाको सबैभन्दा विश्वासिलो र लोकप्रिय रिल जोडीका रूपमा स्थापित हुँदै गएको देखिन्छ।
