`

गोलभेँडा फ्याँकेर आन्दोलनरत किसानसँग कृषि मन्त्री चौधरीको छलफल

Nepal One HD ३१ असार २०८३ १९:०८
प्रमुख खबर

काठमाडौँ। कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले सडकमा गोलभेँडा फ्याँकेर प्रदर्शनमा रहेका किसानहरुसँग छलफल गर्नुभएको छ ।

प्रदर्शनमा रहेका किसानलाई आजै मन्त्री चौधरीले किसान प्रतिनिधिहरूलाई मन्त्रालयमा आमन्त्रण गरी उनीहरूका गुनासा र मागबारे विस्तृत छलफल गर्नुभएको हो ।

मन्त्री चौधरीले भन्नुभयो, ‘किसानले उत्पादन गरेको कृषि उपजको उचित मूल्य पाउन् भनेर कडा अनुगमनको व्यवस्था गरेका छौं, यसमा विचौलिया रोक्नका लागि कृषि विधेयक अघि बढाएका छौं ।’ कृषि ऐन बनेपछि विचौलियाको समस्या समाधान हुने उहाँको भनाई थियो ।

मन्त्री चौधरीले किसानलाई आफ्नो उत्पादन नजिकका हाटबजारमा विक्री वितरण गर्न आग्रह गर्दै सबैले उत्पादित सामग्री बेच्न कालीमाटी बजारमा आइरहन नपर्ने बताउनुभयो ।

‘हामीले किसानका पीडा बुझेका छौँ, किसानका समस्या सुनुवाई गर्न र समाधान गर्नका लागि म किसानको खेतमा पनि आउन तयार छु,’ मन्त्री चौधरीले भन्नुभयो, ‘आन्दोलन समाधान होइन, सहजीकरणमा आउनुस्, किसानसम्म रासायनिक मल सहज रुपमा पुगोस् भनेर हामीले कडा अनुगमनको व्यवस्था गरेका छौं ।’

छलफलका क्रममा किसानका समस्यालाई गम्भीरतापूर्वक सुन्दै सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी व्यवहारिक समाधानका लागि पहल गरिने विश्वास दिलाउनुभएको मन्त्रालयले जनाएको छ।

छलफलका क्रममा मन्त्री चौधरीले किसानको पीडाप्रति आफू संवेदनशील रहेको उल्लेख गर्दै भन्नुभयो, “म पनि किसानकी छोरी हुँ। किसानले भोग्नुपरेको पीडा र संघर्षलाई मैले नजिकबाट बुझेकी छु। किसानका जायज माग सम्बोधन गर्न मन्त्रालय सधैं सकारात्मक र प्रतिबद्ध रहनेछ।”

सरकार किसानको हितप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै उत्पादन, बजार व्यवस्थापन, उचित मूल्य निर्धारण तथा कृषि क्षेत्रका दीर्घकालीन समस्याको समाधानका लागि किसानसँग निरन्तर संवाद, सहकार्य र समन्वयलाई प्राथमिकता दिइने बताउनुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *