युवतिको मलद्वारमा लुकाएर लागूऔषध भित्र्याउन खोज्ने युवक-युवती पक्राउ
काठमाडौं। भारतबाट नेपालतर्फ लागूऔषध तस्करी गर्न खोजेको आरोपमा एक युवक र एक युवती पक्राउ परेका छन्। प्रहरीले उनीहरूलाई मोरङको रंगेली नगरपालिका–६ स्थित पुरानो भन्सार क्षेत्रबाट नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा इलामको चुलाचुली गाउँपालिका–१ का २३ वर्षीय सम्योक वानेम फागो र २० वर्षीया भूमिका फागो रहेका छन्। उनीहरू हाल मोरङको पथरीशनिश्चरे नगरपालिका–१ मा बस्दै आएका थिए।
प्रहरीका अनुसार विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रंगेली र लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपाल प्रवेश गर्दै गरेका उनीहरूलाई शंकास्पद अवस्थामा रोकी जाँच गरेको थियो।
प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूले शरीरको संवेदनशील भाग अर्थात् मलद्वारमा लुकाएर लागूऔषध नेपाल भित्र्याउन प्रयास गरेको खुलेपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ भने बरामद लागूऔषधको प्रकार र परिमाणबारे प्रहरीले विस्तृत विवरण सार्वजनिक गर्ने तयारी गरेको छ।
