श्रीमती हत्याको आरोपमा एक जना पक्राउ
सङ्खुवासभा। सङ्खुवासभाको मादी नगरपालिका–४ डाँडागाउँमा घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा चैनपुर नगरपालिका–७ का स्थायी बासिन्दा तथा हाल मादी–४ डाँडागाउँमा बस्दै आएका ५६ वर्षीय अमरबहादुर सार्की रहेका छन्। जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीका अनुसार शनिबार बिहान करिब ६ बजे घरायसी विवादका क्रममा सार्कीले आफ्नी ४३ वर्षीया श्रीमती फुलमाया मुदेलमाथि खुकुरी प्रहार गरेका थिए।
प्रहरीका अनुसार खुकुरी प्रहारबाट गम्भीर घाइते भएकी फुलमायाको घटनास्थलमै मृत्यु भएको थियो।
घटनापछि अमरबहादुर आफैं मादीस्थित मङ्लबारे प्रहरी चौकीमा पुगेका थिए। त्यसपछि इलाका प्रहरी कार्यालय चैनपुरबाट प्रहरी निरीक्षक पर्शुराम राईको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो।
प्रहरीले घटनामा प्रयोग गरिएको खुकुरीसहित अमरबहादुरलाई नियन्त्रणमा लिएको जनाएको छ। मृतकको शव पोस्टमार्टमका लागि ओखरबोटस्थित मादी नगर अस्पताल पठाइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ।
