कुवेतको अमेरिकी शैन्य अखडामा इरानको आक्रमण
काठमाडाैं। इरानले मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गर्दै ड्रोन आक्रमणको नयाँ चरण सुरु गरेको दाबी गरेको छ।
इरानी सेनाको जनसम्पर्क विभागले जारी गरेको विज्ञप्तिलाई उद्धृत गर्दै बीबीसी फारसीले जनाएअनुसार इरानले सहरी क्षेत्रहरूमा भएको अमेरिकी आक्रमणको प्रतिक्रियास्वरूप ‘अपरेशन लाइटनिङ’को १७औँ चरण सुरु गरेको जनाएको हो।
इरानी सेनाका अनुसार यस चरणमा कुवेतस्थित क्याम्प अल–अदीरीमा रहेको अमेरिकी हतियार भण्डारलाई निशाना बनाइएको छ। साथै, अली अल–सलेम एयर बेसमा रहेका अमेरिकी सैन्य उपकरण र सैन्यकर्मीहरूको केन्द्रमा पनि पुनः ड्रोन आक्रमण गरिएको दाबी गरिएको छ।
इरानले पछिल्ला दिनहरूमा अमेरिका–इरान तनाव बढेसँगै कुवेतमा रहेका अमेरिकी सैन्य संरचनामाथि निरन्तर आक्रमण गरिरहेको दाबी गरेको छ। यद्यपि इरानका यी दाबीहरूको स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन।
यता कुवेतले भने आफ्ना सुरक्षा निकायले इरानबाट गरिएका आक्रमणको प्रतिकार गरिरहेको जनाएको छ। घटनाबारे अमेरिकी अधिकारीहरूले भने तत्काल कुनै औपचारिक प्रतिक्रिया दिएका छैनन्।
यसअघि पनि इरानले ड्रोन आक्रमणमार्फत कुवेतस्थित अमेरिकी सैन्य अड्डाहरूलाई निशाना बनाएको दाबी गर्दै आएको थियो।
