`

ठूलो मात्रामा लागुऔषधसहित दुई जना पक्राउ

Nepal One HD ३ साउन २०८३ १६:१४
अपराध

काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका–१५ ढुङ्गेअड्डाबाट ठूलो परिमाणमा लागुऔषधसहित दुई जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ।

सशस्त्र प्रहरी बल नेपालले आइतबार दिउँसो विशेष सूचनाका आधारमा गरेको अपरेशनमा काठमाडौं महानगरपालिका–९ पागादोबाटो बस्ने ३९ वर्षीय अनिल देउला र उदयपुरको गाईघाट स्थायी घर भई हाल चन्द्रागिरी–४ नैकाप बस्दै आएकी २४ वर्षीया सुमित्रा राई पक्राउ परेका हुन्।

सशस्त्र प्रहरीका अनुसार अनिल देउलाले लागुऔषध कारोबार गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोको टोली परिचालन गरिएको थियो। पक्राउका क्रममा उनीहरूको साथबाट ५० वटा बक्समा राखिएको १५ हजार क्याप्सुल ट्रामाडोल बरामद गरिएको छ।

प्रहरीले उनीहरूले प्रयोग गर्दै आएको बा ७७ प ७८०० नम्बरको स्कुटर पनि नियन्त्रणमा लिएको छ।

त्यसैगरी, देउला बस्दै आएको कोठामा गरिएको खानतलासीका क्रममा १ हजार १८८ वटा डाइजापाम तथा फेनरागन ट्याब्लेट, ३ हजार ७७० वटा ट्रामाडोल क्याप्सुल र १५० वटा पोलेन ट्याब्लेट बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ।

खानतलासीका क्रममा १ लाख ३९ हजार १६५ रुपैयाँ नगद र तीन थान मोबाइल फोनसमेत नियन्त्रणमा लिइएको छ।

सशस्त्र प्रहरी बलका डीएसपी शैलेन्द्र थापाका अनुसार पक्राउ परेका दुवै जनालाई बरामद लागुऔषध, नगद, स्कुटर र मोबाइलसहित आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने तयारी गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *