रवि-स्वर्णिम भेटले झस्किएको हो बालेन पक्ष?
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र उपसभापति तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले शनिबार काभ्रेको धुलिखेलस्थित दुसित थानी हिमालयन रिसोर्टमा पुगेपछि पार्टीभित्र नयाँ राजनीतिक चर्चा सुरु भएको छ। दुई नेताबीच लामो समयसम्म भएको भेटवार्ताले सरकार र पार्टीभित्रको पछिल्लो समीकरणबारे विभिन्न अड्कलबाजीलाई थप बल दिएको छ।
स्रोतका अनुसार रवि पत्नी निकिता पौडेल लामिछानेसँग रिसोर्ट पुगेका थिए भने अर्थमन्त्री वाग्ले आफ्ना केही निकट नेतासहित त्यहाँ उपस्थित भएका थिए। दुवै नेता फरक-फरक समयमा रिसोर्ट पुगे पनि त्यहाँ उनीहरूबीच लामो छलफल भएको बताइएको छ। उक्त रिसोर्टमा अर्थमन्त्री वाग्लेको समेत लगानी रहेको बताइन्छ।
रास्वपाभित्रका केही नेताहरूले यसलाई शनिबारको सार्वजनिक बिदामा भएको सामान्य पारिवारिक भेटघाटका रूपमा व्याख्या गरेका छन्। यद्यपि पार्टीका केही नेताहरू भने भेटको उद्देश्य राजनीतिक रहेको दाबी गर्छन्।
स्वर्णिम वाग्लानिकट एक नेताले दुवै नेता परिवारसहित रिसोर्ट पुगेकाले त्यसलाई अस्वाभाविक रूपमा लिन नहुने बताए। उनका अनुसार सरकारको अवस्था, समसामयिक राजनीति वा पार्टीका विषयमा छलफल हुनु स्वाभाविक भए पनि भेट मुख्यतः पारिवारिक हुन सक्ने अनुमान गरिएको छ।
यद्यपि पछिल्लो समय रास्वपाभित्र अर्थमन्त्री वाग्लेको भूमिकालाई लिएर विभिन्न चर्चा चलिरहेका बेला भएको यो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ। पार्टीभित्र प्रधानमन्त्री बालेन्द्र शाह अर्थमन्त्री वाग्लेको विकल्प खोज्ने तयारीमा रहेको चर्चा केही समयदेखि चल्दै आएको छ।
रास्वपाका केही नेताहरूका अनुसार प्रधानमन्त्री शाहले अर्थ मन्त्रालयको नेतृत्व परिवर्तन गर्ने सम्भावनाबारे आन्तरिक छलफल गरिरहेका छन्। वाग्लेको स्थानमा विदुषी राणा वा सुशान्त बैद्धिकलाई ल्याउन सकिने चर्चा पार्टीभित्र भइरहेको स्रोतहरूको दाबी छ। पछिल्लो समय प्रधानमन्त्री शाह र विदुषी राणाबीच बढेको निकटतालाई पनि यी चर्चासँग जोडेर हेरिएको छ।
यसैक्रममा हालै उद्योगी-व्यवसायीसँग भएको एक छलफलमा अर्थमन्त्री वाग्लेलाई सहभागी नगराइएको घटनाले पनि विभिन्न अड्कलबाजी जन्माएको थियो। उक्त छलफल विदुषी राणाको पहलमा आयोजना गरिएको बताइन्छ।
यद्यपि रास्वपा नेतृत्वनिकट स्रोतहरूले भने अर्थमन्त्री परिवर्तनबारे बाहिर आएका चर्चा पुष्टि नगरेका छन्। सभापति रवि लामिछानेनिकट एक स्रोतका अनुसार प्रधानमन्त्रीले अहिले नै अर्थमन्त्री परिवर्तन गर्ने निर्णयमा पुगेको भन्ने दाबी तथ्यमा आधारित छैन।
‘स्वर्णिमको विकल्प खोज्ने कुरा बाहिर आएजस्तो गम्भीर विषय अहिले छैन। अर्थमन्त्री फेरबदल तत्काल हुने अवस्था देखिँदैन,’ स्रोतले भन्यो।
यसबीच अर्थमन्त्री वाग्लेको सचिवालयले उनी मन्त्रालयकै कामका सिलसिलामा उपत्यकाबाहिर रहेको जनाएको छ। काभ्रे नै पुगेकोबारे भने सचिवालयले पुष्टि गरेको छैन।
उता प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले पनि प्रधानमन्त्री काभ्रेको उक्त रिसोर्ट जाने कुनै कार्यक्रम नरहेको जनाएको छ। सचिवालयका एक सदस्यका अनुसार शनिबार प्रधानमन्त्रीको पार्टीका नेताहरूसँग भेटघाट गर्ने कुनै कार्यसूची थिएन।
राजनीतिक वृत्तमा भने केही दिनअघि प्रधानमन्त्री शाह र सभापति रवि लामिछानेबीच बूढानीलकण्ठस्थित निवासमा भएको भेटसँग पनि धुलिखेलको यो भेटलाई जोडेर हेरिएको छ। स्रोतहरूका अनुसार उक्त भेटमा सरकारको कार्यसम्पादन र केही मन्त्रीहरूको भूमिकाबारे छलफल भएको थियो। त्यसैको निरन्तरताका रूपमा रवि र स्वर्णिमबीच धुलिखेलमा पनि राजनीतिक संवाद भएको हुन सक्ने अनुमान गरिएको छ।
यद्यपि रास्वपाले दुई नेताको भेटबारे कुनै औपचारिक प्रतिक्रिया दिएको छैन। त्यसैले धुलिखेलको रिसोर्टमा भएको भेट पारिवारिक जमघट मात्र थियो वा त्यसले सरकार र पार्टीभित्रको आगामी राजनीतिक निर्णयलाई प्रभावित पार्नेछ भन्ने प्रश्न भने अझै खुला नै रहेको छ।
