ब्रेन ट्युमरको शल्यक्रियापश्चात् स्वास्थ्यलाभ गर्दै दीपाश्री
काठमाडौं। अभिनेत्री तथा फिल्म निर्देशक दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया गरिएको छ। हाल उनी काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा चिकित्सकको निगरानीमा स्वास्थ्यलाभ गरिरहेकी छन्।
वरिष्ठ न्युरोसर्जन डा. वसन्त पन्तको नेतृत्वमा रहेको चिकित्सक टोलीले उनको शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको अस्पताल स्रोतले जनाएको छ।
अभिनेता तथा उनका सहकर्मी दीपकराज गिरीका अनुसार नयाँ फिल्मको सुटिङ र डबिङको व्यस्त तालिकाकै बीच दीपाश्रीको स्वास्थ्य परीक्षण गर्दा ब्रेन ट्युमर भएको पत्ता लागेको थियो। त्यसपछि निर्माण टोली केही समय अन्योलमा परेको भए पनि चिकित्सकको सल्लाहअनुसार तत्काल शल्यक्रिया गर्ने निर्णय गरिएको उनले बताए।
उपचारका लागि भारत जानुपर्ने सुझाव आए पनि अन्ततः नेपालमै उपचार गराउने निर्णय गरिएको र डा. वसन्त पन्तको नेतृत्वमा सफल शल्यक्रिया सम्पन्न भएको दीपकराजले जानकारी दिएका छन्।
शल्यक्रियापछि दीपाश्रीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बताइएको छ। उनी अहिले चिकित्सकको निगरानीमा अस्पतालमै आराम गरिरहेकी छन्।
उनको स्वास्थ्यबारे जानकारी सार्वजनिक भएपछि फिल्म क्षेत्रका कलाकार, निर्माता, निर्देशक तथा शुभेच्छुकहरूले सामाजिक सञ्जालमार्फत शीघ्र स्वास्थ्यलाभको कामना व्यक्त गरिरहेका छन्।
