बीपी स्मृति कि कांग्रेस विभाजन दिवस ?
काठमाडौं। नेपाली कांग्रेसले साउन ६ गते ४४औँ बीपी स्मृति दिवस मनाउने तयारी गरिरहँदा पार्टीभित्रको राजनीतिक संकट भने निर्णायक मोडमा पुगेको छ।
संस्थापक नेता तथा पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको स्मृति दिवस यसपटक कांग्रेसका दुई धारले अलग–अलग रूपमा मनाउने तयारी गरेका छन्। यसले पार्टीभित्रको विभाजन औपचारिक बन्ने संकेतसमेत दिएको छ।
विशेष महाधिवेशनपछि उत्पन्न विवाद समाधान हुन नसकेपछि नियमित महाधिवेशन पक्षधर र विशेष महाधिवेशनबाट बनेको नेतृत्वबीचको दूरी झन् बढेको छ। दुवै पक्षले छुट्टाछुट्टै कार्यक्रम आयोजना गर्ने तयारी गरेका छन् भने त्यसै दिनबाट नयाँ राजनीतिक यात्रा सुरु गर्ने संकेत पनि देखिएको छ।
विशेष महाधिवेशनलाई अस्वीकार गर्दै आएका शेरबहादुर देउवा निकट समूहले प्रज्ञा प्रतिष्ठानमा विशेष कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ। सो कार्यक्रमलाई पार्टी एकताको अन्तिम प्रयासका रूपमा प्रस्तुत गरिए पनि त्यसपछि नयाँ दल गठनको तयारीलाई तीव्र बनाइएको स्रोतहरूको दाबी छ।
देउवा उपचारका क्रममा विदेशमा रहे पनि उनको अनुपस्थितिमा पूर्णबहादुर खड्काले समूहको नेतृत्व गर्दै आएका छन्। निर्वाचन आयोग र सर्वोच्च अदालतले विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई वैधानिकता दिएपछि पनि असन्तुष्ट समूहले समानान्तर गतिविधि जारी राखेको छ। पछिल्ला दिनमा छुट्टै सम्पर्क कार्यालय स्थापना, निरन्तर बैठक र पाँचबुँदे प्रस्ताव सार्वजनिक गर्नु त्यही रणनीतिको हिस्सा मानिएको छ।
असन्तुष्ट समूहले पार्टी एकताका लागि पाँच प्रमुख प्रस्ताव अघि सारेको छ। त्यसमा १४औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यलाई हालको केन्द्रीय समितिमा समायोजन गर्ने, सभापतिको बहुमत रहने गरी कार्यसम्पादन समिति गठन गर्ने, १५औँ महाधिवेशनको कार्यतालिका घोषणा गर्ने, महाधिवेशन सम्बन्धी समिति पुनर्गठन गर्ने तथा पुराना क्रियाशील सदस्यलाई स्वतः मान्यता दिने विषय समेटिएका छन्।
तर वर्तमान नेतृत्वले यी प्रस्ताव स्वीकार्ने संकेत दिएको छैन। विशेषगरी दुईवटा विषय—केन्द्रीय समिति समायोजन र क्रियाशील सदस्यताको व्यवस्थापन—मै सहमतिको सबैभन्दा ठूलो गाँठो परेको देखिन्छ। संस्थापन पक्षले हालको संरचना परिवर्तन गर्न नसकिने अडान लिएको छ भने डिजिटल प्रणालीमार्फत सदस्यता अद्यावधिक भइसकेको अवस्थामा पुरानो व्यवस्थामा फर्किन नसकिने स्पष्ट पारेको छ।
यता असन्तुष्ट समूह भने आफ्ना माग सम्बोधन नभए छुट्टै राजनीतिक दल गठन गर्ने निष्कर्ष नजिक पुगेको बताइएको छ। नयाँ दलको नाम, संगठनात्मक संरचना र विधानको प्रारम्भिक तयारी पूरा भइसकेको दाबीसमेत गरिएको छ। नेतृत्व र चुनाव चिह्नबारे भने अन्तिम निर्णय हुन बाँकी रहेको बताइन्छ।
असन्तुष्ट पक्षले राष्ट्रिय भेला आयोजना गरी नयाँ दलको औपचारिक घोषणा गर्ने तयारी गरिरहेको छ। उक्त भेलामा १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य, प्रदेश सभापति, जिल्ला सभापति तथा क्षेत्रीय नेतृत्वलाई सहभागी गराउने योजना बनाइएको छ। देउवा स्वदेश फर्किएपछि उनीकै उपस्थितिमा नयाँ राजनीतिक यात्रा घोषणा गर्ने रणनीति रहेको चर्चा पनि भइरहेको छ।
यद्यपि असन्तुष्ट समूहभित्र पनि सबै नेता विभाजनको पक्षमा छैनन्। शेखर कोइरालासहित केही नेताहरूले अन्तिम समयसम्म पार्टी एकता जोगाउने प्रयास गरिरहेका छन्। उनीहरू संवादमार्फत सहमति खोज्नुपर्ने र आगामी महाधिवेशनलाई नै एकताको आधार बनाउनुपर्ने पक्षमा छन्।
संस्थापन पक्षले पनि संवादका ढोका बन्द नभएको बताउँदै आएको छ। उपसभापति विश्वप्रकाश शर्माले दुवै पक्षबीच निरन्तर छलफल भइरहेको र सहमतिको सम्भावना अझै जीवित रहेको बताएका छन्। तर दुवै पक्ष आफ्नो मूल अडानबाट पछि हट्ने संकेत नदेखिएकाले सहमति सहज देखिएको छैन।
यदि बीपी स्मृति दिवसअघि कुनै सहमति हुन सकेन भने कांग्रेसको आन्तरिक विवाद औपचारिक विभाजनतर्फ जाने सम्भावना बलियो बनेको छ। संस्थापक नेताको स्मृति दिवस मनाइरहेका बेला नै पार्टी नयाँ राजनीतिक ध्रुवीकरणको चरणमा प्रवेश गर्न सक्ने अवस्था सिर्जना भएको छ।
