ओडेसा बन्दरगाह आक्रमणपछि भारत–रुस सम्बन्धमा नयाँ तनाव
नयाँदिल्ली, ५ साउन : युक्रेनको ओडेसा बन्दरगाहबाट प्रस्थान गरेको मालवाहक जहाजमा भएको क्षेप्यास्त्र आक्रमणमा चार भारतीय नागरिकको मृत्यु भएपछि भारतले मङ्गलबार रुससँग औपचारिक विरोध जनाएको छ ।नयाँदिल्लीले रुसका कार्यवाहक राजदूत भ्लादिमिर लाडानोभलाई विदेश मन्त्रालयमा बोलाएर घटनाप्रति गम्भीर चिन्ता र कडा असन्तुष्टि व्यक्त गरेको हो ।
भारतीय विदेश मन्त्रालयका अनुसार आइतबार व्यावसायिक मालवाहक जहाज एमभी गोल्डेन लियोमाथि भएको आक्रमणमा पाँच भारतीय नागरिक सवार थिए । तीमध्ये चार जनाको मृत्यु भएको पुष्टि भएपछि भारतले घटनाको स्पष्ट शब्दमा निन्दा गरेको छ ।
मन्त्रालयले जारी गरेको विज्ञप्तिमा यस्ता आक्रमणले अन्तर्राष्ट्रिय समुद्री व्यापारको सुरक्षा, स्थायित्व र निर्बाध सञ्चालनमाथि गम्भीर असर पार्ने उल्लेख गरिएको छ ।साथै निर्दोष नागरिकको ज्यान जाने गरी व्यावसायिक जहाजलाई निशाना बनाइनु कुनै पनि अवस्थामा स्वीकार्य हुन नसक्ने सन्देश मस्कोसम्म पु¥याउन कार्यवाहक राजदूतलाई आग्रह गरिएको जनाएको छ ।
युक्रेनी नौसेनाका अनुसार आइतबार भएको रुसी क्षेप्यास्त्र आक्रमणमा टर्कीको स्वामित्वमा रहेको र गिनी–बिसाउका लागि अन्न बोकेको गोल्डेन लियो नामक कार्गो जहाजमा प्रहार भएको थियो ।भारत विश्वव्यापी समुद्री व्यापारका लागि दक्ष नाविक उपलब्ध गराउने प्रमुख मुलुकमध्ये एक हो । सन् २०२५ मा मात्र तीन लाख २० हजारभन्दा बढी सक्रिय भारतीय नाविक अन्तर्राष्ट्रिय व्यापारिक जहाजमा कार्यरत रहेको तथ्याङ्क छ ।
सोभियत सङ्घकालदेखि भारत र रुसबीच घनिष्ठ सम्बन्ध रहँदै आए पनि सन् २०२२ मा रुसले युक्रेनमाथि आक्रमण सुरु गरेपछि दुवै देशको सम्बन्धमा नयाँ कूटनीतिक चुनौती देखिएको छ । पछिल्लो घटनापछि भारतले आफ्ना नागरिकको सुरक्षालाई प्राथमिकतामा राख्दै रुससँग प्रत्यक्ष रूपमा असन्तुष्टि जनाएको हो ।
