`

बागमतीमा एमालेका ६ मन्त्रीले दिए सामूहिक राजीनामा

Nepal One HD ६ साउन २०८३ ११:०४
नेकपा एमाले

हेटौंडा। बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेले सरकारबाट बाहिरिने निर्णयसँगै मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको छ।

एमालेका सबै ६ मन्त्रीले मंगलबार सामूहिक रूपमा राजीनामा बुझाउँदै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएका छन्।

एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले मुख्यमन्त्री बानियाँलाई सम्बोधन गर्दै पठाएको पत्रमार्फत वर्तमान राजनीतिक परिस्थिति तथा पार्टीको निर्णयअनुसार सरकारमा रहेका सबै मन्त्रीले तत्काल प्रभावबाट लागू हुने गरी पदबाट राजीनामा दिएको जानकारी गराएका छन्। पत्रमा राजीनामा स्वीकार गरी आवश्यक संवैधानिक प्रक्रिया अघि बढाउन पनि आग्रह गरिएको छ।

सरकारबाट बाहिरिने निर्णयसँगै एमालेले मुख्यमन्त्री बानियाँ नेतृत्वको सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको पुष्टि गरेको छ। यससँगै प्रदेश सरकारको अंकगणित परिवर्तन भएको छ र मुख्यमन्त्री अब प्रदेशसभामा विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यतामा परेका छन्।

एमालेका तर्फबाट कृषि, भौतिक पूर्वाधार, उद्योग–पर्यटन–श्रम तथा यातायात, वन तथा वातावरण र स्वास्थ्य क्षेत्र हेर्ने गरी सरकारमा सहभागी भएका सबै मन्त्रीले एकैसाथ पद त्याग गरेका हुन्।

एमाले स्रोतका अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रदेश सरकारहरूमा नयाँ सत्ता सहकार्यबारे भएको छलफलपछि पार्टी नेतृत्वले सरकारबाट बाहिरिन निर्देशन दिएको थियो। सोही निर्देशनअनुसार मन्त्रीहरू काठमाडौंबाट हेटौंडा पुगेर सामूहिक रूपमा राजीनामा बुझाएका हुन्।

साउन २०८१ देखि नेपाली कांग्रेस र एमालेको सहकार्यमा सञ्चालन हुँदै आएको बागमती सरकार झण्डै दुई वर्षपछि नयाँ राजनीतिक मोडमा पुगेको छ। एमालेको समर्थन फिर्तासँगै मुख्यमन्त्री बानियाँले अब संविधानअनुसार ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्नेछ। त्यस अवधिमा नयाँ सत्ता समीकरण बन्ने वा वर्तमान सरकार टिक्ने भन्ने विषयले बागमती प्रदेशको राजनीति थप चासोको केन्द्र बनेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *