गगन थापाको सन्देश : चुनावले होइन, सिद्धान्तले कांग्रेसलाई परिभाषित गर्छ
काठमाडाैं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसलाई चुनावले नभएर , सिद्धान्तले परिभाषित गर्ने बताएका छन्। बीपी कोइरालाको ४४औँ स्मृति दिवसलाई केवल स्मरणको कार्यक्रममा उनले कांग्रेसको भावी राजनीतिक दिशा, संगठनको चरित्र र चुनावी रणनीतिले कांग्रेस परिभाषित हुने बताएका हुन्। उनका अनुसार कांग्रेसको राजनीति सत्ता जित्नका लागि मात्र होइन, समाजको विश्वास जित्नका लागि हुनुपर्छ।
पछिल्ला केही वर्षयता नेपाली राजनीतिमा चुनाव, गठबन्धन र सत्ताको अंकगणित नै मुख्य बहस बनेको छ। यही परिवेशमा थापाले कांग्रेसको राजनीतिक पहिचानलाई बीपी कोइरालाको सिद्धान्तसँग जोड्ने प्रयास गरे। उनले भने, ‘शक्तिको प्रतिस्पर्धा मात्रै राजनीति होइन, सत्ताको प्रतिस्पर्धा मात्रै राजनीति होइन। किनभने हामीलाई यही कुरा बीपी कोइरालाले सिकाउनुभएको हो।’
थापाले आगामी स्थानीय र प्रदेश निर्वाचनलाई लिएर पार्टीभित्रैबाट आउने दबाब र चेतावनीप्रति कांग्रेस सजग रहेको बताए। उनले आफूलाई कतिपय नेताले चुनावको परिणाम देखाएर तर्साउने गरेको उल्लेख गर्दै त्यसलाई अस्वीकार गरे।
‘मलाई कतिपय साथीहरूले तर्साउन खोज्नुहुन्छ, कहिलेकाहीँ नेताहरूले पनि तर्साउन खोज्नुहुन्छ। हेरौंला स्थानीय चुनाव भन्नुहुन्छ, हेरौंला प्रदेशको चुनाव भन्नुहुन्छ। हामी बीपी कोइरालाका कार्यकर्ता हौं। हामी एउटा चुनावबाट मात्तिहाल्ने र एउटा चुनावबाट आत्तिहाल्ने होइनौं,’ उनले भने।
गठबन्धनको राजनीतिप्रति पनि अप्रत्यक्ष रूपमा प्रश्न उठाएका थापाले अब गठबन्धनको राजनीति नहुने दाबी गरे। ‘हामी चुनाव हारिएला, नजितिएला भनेर आस्थासँग सम्झौता गर्दै सोसाइटी र सिद्धान्तले नमान्ने गठबन्धनको राजनीति बोक्ने कांग्रेस होइन,’ उनको दाबी छ।
थापाको अर्को महत्त्वपूर्ण सन्देश सत्ता र समाजबीचको सम्बन्धमा केन्द्रित थियो। उनका अनुसार कांग्रेसको सफलता सरकारमा पुग्नुमा होइन, नागरिकको विश्वास जित्नुमा निर्भर छ। ‘हाम्रा लागि प्राइमरी कुरा भनेको नागरिकको विश्वास र भरोसा हो। त्यसका लागि हामीले सत्तासँग होइन, समाजसँग जोडिएको कांग्रेस बनाउनुपर्ने छ,’ उनले जोड दिए।
यद्यपि, अहिले नेपाली राजनीतिको यथार्थ भने थापाले त्यति सरल छैन। थापा नेतृत्वको कांग्रेस आफै दुई खेमातिर विभाजित अवस्थामा छ। अर्को खेमाको नेतृत्व पूर्णबहादुर खड्काले गरिरहेका छन्, भनिन्छ जसमा शेरबहादुर देउवाको सहयोग छ। उक्त खेमातिर कांग्रेसका समकालीन तथा पुराना नेताहरु शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, प्रकाशशरण महत्हरु छन्। यसले थापाको भनाइलाई झन् धेरै चुनौती दिन्छ।
यस्तो अवस्थामा नेपालको वर्तमान राजनीतिमा गठबन्धन, शक्ति सन्तुलन र चुनावी गणितलाई बेवास्ता गरेर कुनै पनि दल अघि बढ्न सक्ने अवस्था छैन। त्यसैले थापाले अघि सारेको ‘समाजसँग जोडिएको कांग्रेस’ को अवधारणा व्यवहारमा कसरी रूपान्तरण हुन्छ भन्ने प्रश्न आगामी स्थानीय तथा प्रदेश निर्वाचनले नै उत्तर दिनेछ।
बीपीको स्मृति दिवसमा थापाले दिएको सन्देशले एउटा कुरा भने स्पष्ट पारेको छ- कांग्रेसभित्र अब चुनाव जित्ने रणनीतिभन्दा पनि पार्टीको वैचारिक पहिचान, संगठनात्मक पुनर्निर्माण र नागरिकसँगको सम्बन्धलाई केन्द्रमा राख्ने बहस अझ तीव्र हुने संकेत देखिएको छ। यही बहसले आगामी दिनमा कांग्रेसको राजनीतिक मार्ग तय गर्ने सम्भावना बलियो छ।
