`

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

Nepal One HD ८ साउन २०८३ २०:५१
विश्व

बामाको। मालीको अदालतले शुक्रबार मालीको पूर्व गुप्तचर प्रमुखलाई ‘सरकारविरुद्ध षड्यन्त्र’ गरेको आरोपमा १५ वर्षको कैद सजाय सुनाएको छ ।

उहाँले १० दिनसम्म चलेको मुद्दाको सुनुवाईका क्रममा सत्तारूढ जुन्ता नेतृत्वमाथि भ्रष्टाचारलाई प्रोत्साहन गरेको आरोप लगाउनुभएको थियो ।

देशका पूर्व गुप्तचर प्रमुख कर्नेल कासुम गोइताविरूद्ध राज्यका सङ्घसंस्थाहरूलाई अस्थिर बनाउने र सत्तापलटको प्रयास गरेको आरोपमा मुद्दा चलाइएको थियो।

उहाँलाई आपराधिक षड्यन्त्रका साथैसरकारविरुद्ध षड्यन्त्र गरेको अभियोगमा दोषी ठहर गरिएको छ । मुद्दाको सुनुवाईका क्रममा गोइताले आरोप अस्वीकार गर्दै सत्तारूढ अधिकारीहरूलाई राज्य कोषको दुरुपयोग गरेको र आफूलाई यातना दिएको खुला आरोप लगाउनुभएको थियो ।

गोइता सन् २०२० अगस्टमा निर्वाचित राष्ट्रपति इब्राहिम बुबकार केइतालाई सत्ताच्युत गर्ने सैनिक कूमा संलग्न सेना अधिकारीमध्ये एक हुनुहुन्छ । उक्त कूको नेतृत्व कर्नेल असिमी गोइताले गर्नुभएको थियो ।

दुवैको एउटै थर भए पनि उनीहरूबीच कुनै नाताको सम्बन्ध छैन। कूटनीतिक दबाबपछि सेनाले सत्तालाई नागरिक नेतृत्वको अन्तरिम सरकारलाई हस्तान्तरण गरेको थियो, जसको जिम्मेवारी मालीलाई फेरि नागरिक शासनतर्फ फर्काउने थियो।

कासुम गोइता उक्त अन्तरिम सरकारको पालामा देशको आन्तरिक गुप्तचर प्रमुख बन्नुभएको थियो ।

सन् २०२१ मा असिमी गोइताले दोस्रो पटक सत्तापलट गर्दै अन्तरिम सरकारका नेताहरूलाई हटाएर आफैं अन्तरिम राष्ट्रपति घोषित भएपछि कासुम गोइतालाई पदबाट हटाइएको थियो।
प्रहरी महान्यायाधिवक्ताले गोइता र अन्य पाँच प्रतिवादीका लागि २० वर्ष कैद माग गरेका थिए।

मुद्दामा दोषी ठहर भएका सबै छ जनाले आरोप अस्वीकार गरेपनि उनीहरूलाई ७ देखि १५ वर्षसम्मको कैद सजाय सुनाइएको छ ।

“हामी यो फैसलाबाट आश्चर्यचकित भएका छैनौँ। हामी घरेलु कानुनी विकल्पहरू सबै प्रयोग गर्नेछौँ र त्यसपछि अन्य निकायमा जाने योजना छ,” गोइताका एक वकिलले एएफपीसँग भन्नुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *