`

रूसी कब्जामा रहेको सहर र सीमावर्ती गाउँमा युक्रेनी आक्रमणबाट छ जनाको मृत्यु

Nepal One HD १० साउन २०८३ १९:५०
विश्व

रूसले कब्जामा लिएको युक्रेनी क्षेत्र र रुसी सीमावर्ती गाउँमा युक्रेनी आक्रमणबाट आइतबार छ जनाको मृत्यु भएको छ । रूस र युक्रेनबिच चार वर्षभन्दा बढी समयदेखि चलिरहेको युद्धमा यो वर्षायाममा नागरिकको मृत्युदर उल्लेखनीय रूपमा बढेको छ ।युक्रेनको खार्किभमा रहेको एक आवासीय भवनमा रुसी आक्रमणबाट अर्को एक जनाको मृत्यु भएको किएभले जनाएको छ ।

यो आक्रमणहरू एक दिनअघि दुवै पक्षका २० जनाको मृत्यु भएको घटनापछि भएका हुन् । किएभ र मस्को दुवैले पछिल्लो समय आक्रमण तीव्र पारेका छन् ।रुसले सन् २०२२ मा सुरु गरेको युद्ध अन्त्य गर्ने कूटनीति अहिले गतिरोधमा छ ।पूर्वी युक्रेनको मस्कोले नियन्त्रण गरेको गोर्लिभ्कामा युक्रेनी ड्रोन आक्रमणबाट चार जनाको मृत्यु भएको त्यहाँका रुसी अधिनस्थ अधिकारीहरूले जनाएका छन्।

खेरसन क्षेत्रको रूसी कब्जामा रहेको भागमा अर्को एक जनाको मृत्यु भएको मस्को निकट अधिकारीहरूले बताएका छन् । रुसको सीमावर्ती बेल्गोरोद क्षेत्रका अधिकारीहरूले स्मोरोदिनो गाउँमा युक्रेनी ड्रोनबाट एक जनाको मृत्यु भएको जनाएका छन्। यी आक्रमणहरू एक दिनअघि अजोभ सागरको कब्जा गरिएको शहरमा युक्रेनी आक्रमणबाट १२ जनाको मृत्यु भएको मस्कोको दाबीपछि भएका हुन् ।

किएभमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले खार्किभको एक आवासीय भवनमा रुसी ड्रोन आक्रमण भएपछि आपत्कालीन सेवाहरूले काम गरिरहेको बताए ।
‘दुर्भाग्यवश एक जनाको मृत्यु भएको छ र नौ जना घाइते भएका छन्, जसमा दुई जना बालबालिका छन्,’ उनले भने, ‘राजधानी किएभमा ब्यालिस्टिक मिसाइल आक्रमण भएको छ र तीन जना घाइते भएका छन्,’ जेलेन्स्कीले थपे ।

युद्ध अन्त्य गर्न अमेरिकाको नेतृत्वमा भएका वार्ता अवरुद्ध भएका छन्। क्रेमलिनले पूर्वी र दक्षिणी युक्रेनका ठुलो भाग ओगटेर राखेको छ र पूर्वी युक्रेनको बाँकी भाग बल प्रयोग गरी कब्जा गर्ने आफ्नो नियत बारम्बार दोहोर्‍याएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *