`

तोकिएको बाटोबाट बाहिरिएपछि समुद्री बारुदी सुरङमा एक ट्याङ्कर ठोक्कियो: इरान

Nepal One HD १० साउन २०८३ २१:२१
विश्व

तेहरान। इरानले तोकेको हर्मुज मार्गबाट बाहिरिएपछि एक ट्याङ्कर समुद्री बारुदी सुरङसँग ठोक्किएको छ ।तस्निम समाचार एजेन्सीले जनाएअनुसार उक्त जहाज तेहरानले स्वीकृत गरेको महत्वपूर्ण समुद्री मार्गबाट बाहिरिएपछि बारुदी सुरङसँग ठोक्किएको हो। ईरानी अधिकारीहरूले अहिलेसम्म यस घटनामा कुनै टिप्पणी गरेका छैनन्।

इरानको इस्लामिक रिवोल्युसनरी गार्ड कप्र्स (आईआरजीसी) ले विगत २४ घण्टामा हर्मुज जलमार्गबाट पार हुन खोज्ने छ वटा जहाजमा चेतावनीका रूपमा आक्रमण गरेको छ । इरानको सरकारी टेलिभिजनले जनाएअनुसार ती जहाजहरूलाई यात्रा जारी राख्नबाट रोकिएको छ । तिनीहरू तेहरानले तोकेको ‘निर्धारित मार्ग’ बाट बाहिरिएर हिँडिरहेका थिए। शनिबार पनि हर्मुज जलमार्गबाट पार हुन खोज्ने चार वटा जहाजलाई आईआरजीसीले अनुमतिबिना अघि बढेको भन्दै रोकेको थियो । हर्मुज जलमार्गबाट आवतजावत गर्ने जहाजहरूको मार्गलाई लिएर अमेरिका र इरानबीचको मतभेद नै यस क्षेत्रमा हालैको तनावको मुख्य कारण बनेको छ ।

इरानी ब्रिगेडियर जनरल मोहम्मद रजा अकरमिनियाले भन्नुभएको छ, “तेहरानले हर्मुज जलमार्गमाथि आफ्नो अधिकार जनाउन कदम चालेको छ । यो कदम अमेरिकाले जुन महिनामा भएको समझदारी पत्रको उल्लङ्घन गर्दै हर्मुज जलसन्धिमा नक्कली र गैरकानुनी मार्ग बनाउन खोजेपछि चालिएको हो। तस्निम समाचार एजेन्सीले अकरमिनियालाई उद्धृत गर्दै लेखेको छ,, “यी कारबाहीहरूमा इस्लामिक रिपब्लिक अफ इरानको सेनाले जोर्डन, कुवेत र बहराइनमा रहेका अमेरिकी आधारहरूलाइ केन्द्रमा राखेको पाइन्छ।” यस क्षेत्रमा अमेरिकाका सबैभन्दा महत्वपूर्ण आधार शिविरहरू रहेको मानिन्छ ।

हर्मुज जलमार्गबाट आवतजावत गर्ने जहाजका लागि ढुवानीका लागि रुटहरूको व्यवस्थापनलाई लिएर अमेरिका र इरानबीचको विवादका कारण हालै भएको समझदारी टुटेको हो। अमेरिकाले लगातार १३ रातसम्म इरानमाथि हमला गरेको छ। जवाफमा इरानले बहराइन, कुवेत र जोर्डनमा रहेका अमेरिकी आधारहरूमाथि आक्रमण गरेको छ । अमेरिकी मिडिया रिपोर्टअनुसार इन्टरसेप्टर मिसाइलको स्टक घट्दै गएको चिन्ता र कूटनीतिका लागि ठाउँ बनाउने उद्देश्यले ट्रम्पले शुक्रबार हमला रोकेको बताउनुभएको थियो ।

कतारमा सबै समुद्री आवागमन पुनः सुरु

कतारको यातायात मन्त्रालयले ‘आइतबार (जुलाई २६) देखि सबै प्रकारका समुद्री जहाज र डुङ्गाका लागि गतिविधि पूर्ण रूपमा पुनः सुरु हुन सक्ने बताएको छ । एक्समा पोस्ट गर्दै मन्त्रालयले जहाजहरूलाई ‘सबै यात्राका क्रममा सुरक्षाको उच्चतम स्तर सुनिश्चित गर्न समुद्री नियम र निर्देशनहरूको पालना गर्न’ आग्रह गरेको छ। होर्मुज जलमार्गमा समुद्री आवागमनमा अमेरिका र इरानबीच एकअर्कामाथि घातक आक्रमण पुनः सुरु भएपछि प्रतिबन्ध लगाइएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *