रविलाई प्रश्न : ‘प्रधानमन्त्री-गृहमन्त्री खै?’
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी घटनाका सम्बन्धमा सरकारले आफ्नो जिम्मेवारीअनुसार काम गरिरहेको बताएका छन्।
उनले घटनाबारे राजनीतिक दलहरूको साझा धारणा सरकारसमक्ष पुर्याएर आवश्यक ध्यानाकर्षण गराइने पनि बताए।
बुधबार आफूले आह्वान गरेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले बैठकको उद्देश्य संवेदनशील परिस्थितिमा सबै राजनीतिक दललाई एउटै मंचमा ल्याई साझा धारणा निर्माण गर्नु रहेको बताए।
बैठकमा प्रधानमन्त्री र गृहमन्त्री अनुपस्थित रहेको विषयमा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै उनले यो राजनीतिक दलका शीर्ष नेताहरूबीचको बैठक भएकाले सरकारका तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिनिधित्व गरेको स्पष्ट पारे।
लामिछानेले सर्वदलीय बैठकमा आएका सुझाव र धारणा सरकारसमक्ष पुर्याइने उल्लेख गर्दै सुनसरीको अवस्थालाई सामान्य बनाउन सबै राजनीतिक दलले जिम्मेवार भूमिका खेल्नुपर्ने आवश्यकता औँल्याए।
