सुनसरी घटनाबारे सर्वदलीय बैठकको सातबुँदे अपिल
काठमाडौं। सुनसरीलगायत विभिन्न जिल्लामा पछिल्लो समय विकसित तनावपूर्ण अवस्थाप्रति गम्भीर चासो व्यक्त गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा बसेको सर्वदलीय बैठकले सातबुँदे संयुक्त वक्तव्य तथा अपिल जारी गरेको छ।
बैठकले घटनामा ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ। साथै, घाइते नागरिक र सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।
संयुक्त वक्तव्यमा नेपालको विविधताबीचको एकता, सहिष्णुता र सामाजिक सद्भावलाई जोगाउन सबै नागरिकलाई संयमता अपनाउन आग्रह गरिएको छ। कुनै पनि प्रकारका उत्तेजना, हिंसा वा मुठभेडबाट समस्या समाधान नहुने भएकाले शान्ति र सहअस्तित्व कायम राख्न सबै पक्षलाई अपिल गरिएको छ।
राजनीतिक दलहरूले लोकतान्त्रिक प्रणालीमा सबै असन्तुष्टि र विवादको समाधान संवाद र सहमतिबाट मात्रै सम्भव हुने उल्लेख गर्दै सम्बन्धित पक्षलाई आफ्ना माग शान्तिपूर्ण ढंगले अघि सार्न आग्रह गरेका छन्।
बैठकले केन्द्रमा मात्र सीमित नभई प्रदेश, जिल्ला र स्थानीय तहसम्म सर्वदलीय तथा सर्वपक्षीय बैठक आयोजना गर्न सबै दलका मातहतका समितिलाई निर्देशन दिएको छ। स्थानीय तहमा धार्मिक अगुवा, नागरिक समाज र प्रशासनसँग समन्वय गरेर विश्वासको वातावरण निर्माण गर्नुपर्नेमा पनि जोड दिइएको छ।
संयुक्त वक्तव्यमा भविष्यमा यस्ता घटना दोहोरिन नदिन राजनीतिक दलहरूले निरन्तर समन्वय, अनुगमन र नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
सामाजिक सञ्जालमा फैलिने अफवाह, भ्रामक सूचना र घृणास्पद अभिव्यक्तिले परिस्थिति थप जटिल बनाउन सक्ने भन्दै नागरिकलाई जिम्मेवार ढंगले सामाजिक सञ्जाल प्रयोग गर्न आग्रह गरिएको छ। सञ्चारमाध्यमलाई पनि तथ्यपरक र संयमित समाचार सम्प्रेषण गर्न अपिल गरिएको छ।
वक्तव्यमा नेपाल सरकारको ध्यानाकर्षण गराउँदै नागरिकको जिउधनको सुरक्षा सुनिश्चित गर्न, अधिकतम संयमता अपनाएर अवस्था सामान्य बनाउन, घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्न तथा पीडित परिवारलाई उचित राहत र क्षतिपूर्ति उपलब्ध गराउन माग गरिएको छ।
अन्त्यमा सर्वदलीय बैठकमा सहभागी राजनीतिक दलहरूले राष्ट्रिय एकता, सामाजिक सद्भाव र शान्तिको पक्षमा एकताबद्ध रहेको सन्देश दिँदै वर्तमान समस्याको दिगो, प्रभावकारी र शान्तिपूर्ण समाधानका लागि सरकारसँग सहकार्य गर्न प्रतिबद्ध रहेको जनाएका छन्।


