`

‘प्रहरी-सेना उतारेर र ड्रोन उडाएर सुनसरी घटना समाधान हुँदैन’ : ओली

Nepal One HD १४ साउन २०८३ १२:१५
राजनीति

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुस्बु ओलीले सुनसरी घटनामा प्रहरी र सेना परिचालन तथा ड्रोनमार्फत निगरानी बढाएर मात्रै समस्या समाधान नहुने बताएकी छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै ओलीले संकटका बेला देशले प्रधानमन्त्रीको अभिभावकीय भूमिका खोजिरहेको बताइन्।

उनले भनिन्, ‘प्रहरी र सेना फिल्डमा उतारेर, ड्रोन आकाशमा उडाएर मात्रै यो घटना समाधान हुँदैन। देशले अहिले प्रधानमन्त्रीको अभिभावकत्व खोजिरहेको छ।’

ओलीले प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत गोली प्रहारबाट युवकको मृत्यु भएको उल्लेख गरेको प्रसंग निकाल्दै गोली कसले चलाएको र त्यसको आदेश कसले दिएको भन्ने प्रश्न उठाइन्।

‘यदि गोली प्रहरीले चलाएको हो भने, त्यसको आदेश कसले दियो ? सुनसरीमा गोली कसले चलाएको थियो ? हामी जान्न चाहन्छौँ,’ उनले भनिन्।

सत्तारुढ दलका सभापतिले विगतको आन्दोलनमा भएको गोलीकाण्ड र सुनसरी घटनाको प्रकृति फरक रहेको बताएको प्रसंग उल्लेख गर्दै ओलीले घटना फरक भए पनि राज्यको जवाफदेहिताको प्रश्न समान हुने बताइन्।

‘घटना, स्थान, प्रकृति र पृष्ठभूमि फरक हुन सक्छन्। तर त्यसपछि राज्यले वहन गर्नुपर्ने जवाफदेहिताको प्रश्न आज पनि एउटै छ,’ उनले भनिन्।

राज्यबाट भएका गोली प्रहारका घटनामा फरक–फरक मापदण्ड अपनाउन नमिल्ने भन्दै ओलीले सुनसरी घटनाको सत्यतथ्य सार्वजनिक गरी जिम्मेवारी तय गर्न माग गरिन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *