त्रिविको प्रवेशपत्रले झुक्यायो विद्यार्थी
काठमाडौं। त्रिभुवन विश्वविद्यालयअन्तर्गत मानविकी तथा समाजशास्त्र संकायको प्रथम सेमेस्टरका विद्यार्थीले भाषा विषयबाहेक नेपाली वा अंग्रेजी दुवै माध्यमबाट परीक्षा दिन पाउने भएका छन्।
प्रवेशपत्रमा अनिवार्य भाषा विषयबाहेक अन्य सबै विषयको उत्तर अंग्रेजी माध्यमबाट मात्र लेख्नुपर्ने उल्लेख भएपछि विद्यार्थी अन्योलमा परेका थिए। प्रवेशपत्रको १० नम्बर बुँदामा नेपाली, नेवारी, मैथिली, हिन्दी र संस्कृतबाहेक अन्य विषयमा उत्तर अंग्रेजी माध्यममा मात्र लेख्नुपर्ने उल्लेख छ।
तर, संकायले भने उक्त व्यवस्था अभ्याससँग मेल नखाने स्पष्ट पारेको छ। मानविकी तथा समाजशास्त्र संकायका सहायक डिन प्रा. डा. चिरञ्जीवी आचार्यका अनुसार भाषा विषयबाहेक अन्य विषयमा विद्यार्थीले नेपाली वा अंग्रेजी जुनसुकै भाषामा उत्तर लेख्न सक्नेछन्।
पत्रकारिता तथा लैङ्गिक अध्ययनका तीन विषयको परीक्षा भइसकेको अवस्थामा केही विद्यार्थी प्रवेशपत्रको व्यवस्थाका कारण अन्योलमा परेका थिए। कक्षामा नेपाली वा अंग्रेजीमध्ये जुनसुकै भाषामा परीक्षा दिन सकिने जानकारी पाएका विद्यार्थीले प्रवेशपत्रमा अंग्रेजी अनिवार्य भनिएपछि समस्या भएको बताएका छन्।
सहायक डिन आचार्यले अंग्रेजी भाषामा प्रश्नपत्र आए पनि विद्यार्थीले नेपाली भाषामै उत्तर लेख्न सक्ने स्पष्ट पारे। उनका अनुसार यो व्यवस्था व्यवहारमा समेत लागू भइसकेको छ।
तर, भाषा विषयको परीक्षामा भने फरक व्यवस्था लागू हुनेछ। जुन भाषामा प्रश्न सोधिएको हो, त्यही भाषामा उत्तर लेख्नुपर्ने आचार्यले बताए।
यससँगै प्रवेशपत्रमा उल्लेख भएको भाषासम्बन्धी प्रावधानले विद्यार्थीमा सिर्जना गरेको अन्योल हटेको छ।
आगामी परीक्षामा पनि भाषा विषयबाहेकका विषयमा विद्यार्थीले आफ्नो सहजताअनुसार नेपाली वा अंग्रेजी माध्यम रोज्न सक्ने भएका छन्।
